नेपाल समाचारपत्र, लमजुङ।
लमजुङमा साहित्यको उषाकालीन अवधिमा उदाएका कविवर डिल्लीजङ गुरुङका ७ कृतिहरूको श्रीरामसीता, चित्तबोध, श्रीमद्भागवत् गीता, पुष्पाञ्जली भाग–१ र २, योगवाशिष्ट सार र विदुर नीतिको संयुक्त संग्रहका रूपमा समुच्चयन भाग–२ प्रकाशन गरिएको छ।
कविवर डिल्लीजङ गुरुङको ११६औं जयन्तीका अवसरमा उक्त कृतिको विमोचन गरिएको हो। कविवर डिल्लीजङ गुरुङको जन्म र कर्मथलो रहेको घनपोखरा बेंसीमा उहाँकै परिवारद्वारा जग्गा प्रदान गरी निर्माण कार्यको अन्तिम चरणमा पुगेको सभाहलमा आयोजित कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो।
प्राध्यापक एवं वरिष्ठ साहित्यकार रामकुमार पाण्डेले समुच्चयन भाग–२ को विमोचन गर्नुभएको हो। २ सय ९४ पृष्ठको समुच्चयन भाग–२ मा त्रिवि पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले भूमिका लेखिसक्नुभएको छ।
ज्ञवालीले १२ पेजको भूमिकामा कविवर डिल्लीजङ गुरुङको साहित्यिक योगदानका अतिरिक्त ती सातवटै कृतिको विशेषता झल्काउने प्रयास गर्नुुभएको छ।
कृतिको विमोचन समारोहका वक्ताहरूले कविवर डिल्लीजङ गुरुङलाई महाकविको संज्ञा दिनुभएको थियो। मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कविवर डिल्लीजङ गुरुङ जस्ता राष्ट्रिय विभूतिका लागि गाउँपालिका समन्वयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो।
यसै गरी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्रकाशन गरेको स्मारिका–२०७६ पनि सोही समारोहमा विमोचन गरिएको हो।
प्रतिक्रिया