मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा.चन्द्रमणि

0
Shares

काठमाडौं, (नेस)।

सरकारले पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली २०७६ स्वीकृत गरेको छ। त्यसैगरी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा वित्तीय संस्था तथा गैरवित्तीय व्यवसाय तथा पेसाकर्मीको क्षेत्रमा नियमनकारी निकाय तोकिएको नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५ कात्तिक २५ को निर्णयसम्बन्धी सूचना सोही मितिमा नेपाल राजपत्रको अतिरिक्तांक प्रकाशन गर्ने निर्णय गरिएको छ।

बैठकले साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल र भारत सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरिएको छ।विल्डिङ अरिसाइलियन्ट चुरिया रिजन अफ नेपाल परियोजनाका लागि ग्रिन क्लाइमेट फन्डबाट प्राप्त हुने ३९ दशमलब ३ मिलियन अमेरिकी डलर अनुदान सहायता प्राप्तिका लागि एक्रिडिडेड इन्टिटीसँग वार्ता गर्न पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

वार्ताका लागि अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो।

खयरबाट उत्पादन हुने वस्तुको सम्बन्धमा मिति २०७६ असार २ को नेपाल राजपत्रमा प्रकाशित निकासी पैठारीसम्बन्धी सूचित आदेशमा संशोधन गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ।

बैठकले उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्ष २०७६/७७ को खरिद मूल्य प्रति क्विन्टल ५ सय ३६ दशमलब ५६ रुपियाँ निर्धारण गर्न स्वीकृति प्रदान गरेको छ।

हातहतियार खरखजानासम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

त्यसै गरी साइप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्यदूत रामजीवन पञ्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गरिएको छ।

हेटौंडा उपमहानगरपालिका, मकवानपुरको स्वामित्वमा रहेको साविक पदमपोखरी–२ हाल हेटौंडा उपमहानगरपालिका वडा नं. १३ कित्ता नं. १०२ क्षेत्रफल ९ दशमलब १ कठ्ठा जग्गा प्रहरी चौकी पदमपोखरीको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिइएको छ।

सुरक्षण मुद्रणसम्बन्धी उपकरणहरू (प्रेससम्बन्धी मेसिन, औजार, प्रविधि, प्रणाली तथा अन्य आवश्यक सामग्री र भौतिक निर्माणलगायत) सरकार–सरकार (जी टु जी) माध्यमबाट खरिद गर्ने सम्बन्धमा फ्रान्स सरकार र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (५ख) बमोजिम सरकार–सरकार विधिबाट खरिद गर्ने निर्णय गरिएको छ। यसको बजेट व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा झापा निवासी डा.चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ। नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, चापाकोट–६, स्याङ्जा डा. हरिहर वस्ती, कामनपा–३१, काठमाडौंका डा. सन्ध्या चापागार्इं, मध्यपुर ठिमी, भक्तपुरका डा. सुप्रभात श्रेष्ठ, मोरङका डा. प्रनित पोखरेल र रजिस्ट्रार पदमा डा. कृष्णप्रसाद अधिकारी, धुम्बाराहीलाई मनोनयन गर्ने निर्णय गरिएको छ।

राष्ट्रिय किताबखानामा अद्यावधिक व्यक्तिगत विवरण (पीआईएस) अनुसार कायम भएको पदनामअनुसार समायोजनपत्र दिन स्वीकृति दिइएको छ।