नयाँ सभामुख खोज्दै नेकपा

0
Shares

काठमाडौं, (नेस)।

नेपाल कम्युनिस्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ। आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन।

सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राख्नुभएको छ। तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहनुभएको छ भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहनुभएको छ।

निर्णय गर्ने ठाउँमा रहनुभएका अध्यक्षद्वयले नै आ–आफ्नो अडान राखेपछि सभामुख चयनमा सहमति जुट्न सकेको छैन। प्रतिनिधिसभाको बैठक शुरू हुनुअगावै तुम्बाहाम्फेले राजीनामा दिने भनिए पनि नेकपाले निर्णय नगर्दा उपसभामुख नेकपाको निर्णयको प्रतिपक्षमा रहेको बताइएको छ।

पार्टीले सभामुख बनाउने निर्णय नगर्दासम्म उपसभामुखबाट राजीनामा नगर्ने अडानमा तुम्बाहाम्फे रहेको स्रोतले बतायो। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गतेयता सभामुख पद रिक्त छ।

सभामुख पद नेकपा आफैंले राख्न चाहेपछि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान रहेको छ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले सभामुख चयनबारे अध्यक्षद्वयले निर्णय गर्ने बताउनुभयो। ‘बिहीबार अध्यक्षद्वयको बीचमा छलफल गर्ने कुरा थियो, चितवनबाट आउन ढिला भएको कारण कुराकानी हुन सकेन’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँका अनुसार शुक्रबार बैठक बसेर सभामुख चयनको बारेमा निर्णय हुन्छ। तपाई पनि सभामुख भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘मैले पनि चर्चा सुनेको हुँ, कसलाई सभामुख बनाउने भन्ने विषय पार्टीले निर्णय गर्छ।’

उपसभामुख तुम्वाहाम्फेले राजीनामा गरेपछि जेष्ठ सदस्यले संसद् बैठकको अध्यक्षता गरेर निर्वाचन प्रक्रिया शुरु गर्ने तयारी दल र संसद् सचिवालयबीच छलफल भइसकेको छ।