६ विश्वविद्यालय उपकुलपतिविहीन

त्रिवि रजिस्ट्रारमा तीन सिफारिस

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ६ विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्न हम्मे भएको छ।
तीन महिनादेखि रिक्त उपकुलपतिहरूको नियुक्ति हुन नसकेपछि ती विश्वविद्यालयले महत्वपूर्ण निर्णय गर्न सकेका छैनन्।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीको संयोजकत्वमा गठित समितिले केही विश्वविद्यालयको उपकुलपति सिफारिस गरे पनि नियुक्ति गर्नुभएको छैन। तीन महिना बितिसक्दा पनि उपकुलपति जस्तो महत्वपूर्ण पद खाली हुनु गम्भीर विषय भएको छ।

उपकुलपति छनोट गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षता, राष्ट्रिय योजना आयोगकी सदस्य (शिक्षा) उषा झा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसहितको समितिले करिब दुई महिनाअघि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयको सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुक विज्ञलाई विवरणसहितको आवेदन माग गरेको थियो।

तीमध्ये करिब ५० भन्दा बढीको नाम छनोट गरी तीन विश्वविद्यालयको तीन–तीन जनाको नाम सिफारिस गरिएको थियो। कमिटीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भारती चन्द, रमेश भट्टराई र पूर्णबहादुर चन्दको नाम सिफारिस गरिएको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा केशरसिंह राना, नन्दकुमार सिंह र जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो। यस्तै, पोखरामा यादवप्रसाद लामिछाने, केशरजंग बराल र देवराज अधिकारीको नाम सिफारिस गरिएको छ।

अधिकारी विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव हुनुहुन्छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई समेत समेटेर अघि बढ्ने भनिएतापनि यो सरकार एक्लैले नियुक्ति गर्ने तयारी गरेको छ।

छनौट समितिका संयोजक एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले भन्नुभयो– प्रक्रियामै छौं, केही दिनपछि निर्णय होला।

समितिले तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये एक जनालाई नियुक्ति गर्ने प्रचलन छ। स्रोतका अनुसार पार्टी मिलेता पनि छुट्ट्रै भागबण्डा खोजिरहेका तत्कालीन एमाले र माओवादीबीच सिफारिस नहुँदा समस्या भएको हो।

त्रिवि रजिस्ट्रारमा तीन सिफारिस

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले रजिस्ट्रार नियुक्ति गर्न तीन जनाको नाम सिफारिस गर्नुभएको छ।

उपकुलपति बास्कोटाले त्रिवि सेवा आयोगका पूर्वसदस्य पेशल दाहाल, व्यवस्थापन संकायका डीन डिल्लीराज शर्मा र त्रिविका उच्च शिक्षा आयोगका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गर्नुभएको हो।

उपकुलपति प्राडा बास्कोटाले हिजो बिहान त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ती नाम सिफारिस गर्नुभएको हो। सिफारिस भएका सबै पूर्व एमाले निकट हुनुहुन्छ।

चार दिन अघि त्रिविको रेक्टर र रजिष्ट्रारको चार वर्षे कार्यकाल पूरा भएको थियो। दुई पदाधिकारी आएपछि नयाँ योजना तय गर्ने तयारीमा रहनुभएका उपकुलपति प्राडा बास्कोटाले सुटुक्क नाम सिफारिस गर्नुएको हो।

उपकुलपतिले रेक्टर पद भने तत्कालीन माओवादीलाई दिने तयारी गर्नुभएको छ। यसअघि नियुक्त हुनुभएका रजिष्ट्रार डिल्ली उप्रेती तत्कालीन एमाले र रेक्टर प्राडा सुधा त्रिपाठी माओवादी कोटाबाट नियुक्त हुनुभएको थियो।

सोहीअनुसार आन्तरिक रुपमा नेकपाकै दु्ई खेमाबाट नियुक्ति गर्ने तयारीमा उपकुलपति रहनुभएको छ। कुलपति एवं प्रधानमन्त्री ओलीले बिहीबार नै एक नम्बरमा रिफारिस भएका प्राडा दाहालको नाम अनुमोदन गरिसक्नुभएको अपुष्ट जानकारी प्राप्त भएको छ।