दोहोरियो बाक्लो हुस्सु र शीतलहर

एकैदिन ४० भन्दा बढी आन्तरिक उडान प्रभावित

0
Shares

टीका बन्धन, काठमाडौं।

युरोपेली वायुका कारण देशैभरिको तामक्रम खस्किएको छ। तराईमा दोहोरिएको बाक्लो हुस्सु र शीतलहरले फेरि जनजीवन प्रत्यक्ष प्रभावित बन्न थालेको छ।

मौसमका कारण बिहीबार भैरहवा, जनकपुर, सिमरा, विराटनगरतर्फका उडान प्रत्यक्ष प्रभावित बनेको त्रिभुवन विमानस्थलस्थित ब्रिफिङ शाखाले जनाएको छ।

‘आज एकैदिन करिब ४० वटा उडान रद्ध भएको छ, मौसमका कारणले साँझसम्म उडान प्रभावित बन्यो।’ –सो शाखाका एक अधिकारीले बिहीबार साँझ भने। अन्तर्राष्ट्रिय उडानतर्फ भने समस्या नरहेको ती अधिकारीले बताए।

पर्याप्त भिजिबिलिटी नहुँदा बिहीबार भैरहवा र जनकपुरमा कुनै उडान भएन। सिमरामा एउटा मात्रै उडान भएको र विराटनगरका दुई/तीनवटा उडान रद्ध हुँदा साँझ अबेरसम्मको उडान तालिका प्रभावित भएको थियो।

हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिने वायुले बाक्लो हुस्सु र शीतलहरको प्रभाव दोहोर्याएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तराईको मौसममा तत्काल सुधार आउने सम्भावना नरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चितवनदेखि पश्चिमतर्फका तराईका भेगमा बाक्लो हुस्सुको प्रभाव बढ्दो क्रममा रहेको बताउँदै महाशाखाकी मौससविद् मञ्जु बासीले भन्नुभयो– ‘तत्काल तराईको मौसम खुल्ने मौसमी प्रणाली विकास भएको छैन।’

उहाँले दोहोर्याउँदै भन्नुभयो– ‘तराईसहित धेरै ठाउँमा आजभन्दा भोलि र भोलिभन्दा पर्सि अझै तापक्रम घट्ने सम्भावना देखिएको छ।’

गत साता पनि झापादेखि कैलालीसम्मका तराईका भेगमा बाक्लो हुस्सु र शीतलहरको प्रभाव फैलिएको थियो। पश्चिम र मध्यतराईको बाक्लो हुस्सु र कुहिरोको अवस्थामा बिहीबार अपराह्नबाट सुधार आउने बताउँदै विशेष बुलेटिन जारी गरे पनि हुस्सु खुल्न सकेन।

हिजोआज पश्चिमी वायु र वायुमण्डलको माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभरिको तापक्रम घटेको विज्ञहरूको ठहर छ।

बाह्रैमास सक्रिय रहने जेटस्ट्रिम गर्मीयाममा पृथ्वीको सतहबाट १४/१५ किमि उचाइ माथि र हिउँदयाममा १० किमि उचाइको हाराहारीबाट बहने गर्छ। जेटस्ट्रिम २/३ सय मिटर प्रतिसेकेन्डका दरले चीनको तिब्बततर्फ बहने मौसमविद् बताउँछन्।

यस्तो वायुको प्रत्यक्ष–अप्रत्यक्ष प्रभावले समेत अहिले मुलुकका धेरै तापक्रम खस्किएको महाशाखाकी अर्की मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो।

पश्चिमी वायुको प्रभावले बिहीबार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ। बिहीबार उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री तापक्रम मापन भएको महाशाखाले जनाएको छ।

बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन भएको थियो। मध्य हिउँद बाँकी भएकाले उपत्यकामा यस वर्षको न्यूनतम तापक्रम अझै खस्किएर शून्य डिग्रीमा पुग्न सक्ने पोखरेलको ठहर छ।

मौसम विभाग मातहतका स्टेसनमा रेकर्ड भएअनुसार बिहीबार देशैभर सबैभन्दा कम तापक्रम जुम्लामा रेकर्ड भएको छ, बिहीबार त्यहाँको न्यूनतम तापक्रम माइनस ७ डिग्री मापन भएको छ।

त्यसै गरी जिरीमा माइनस ३ दशमलव ५, डडेलधुरामा १ दशमलव ७, वीरेन्द्रगरमा २, लुम्लेमा २ दशमलव ५, दिपायल र ओखलढुंगामा समान ३ दशमलव ५ डिग्री रेकर्ड भएको छ।