सक्षम महिलालाई अघि बढाउनुपर्छ: नेता नेपाल 


पोखरा,
पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने बताउनुभएको छ । ‘नेपालका मुस्लिम समुदाय’ नामक पुस्तक विमोचन तथा ‘पुनःजागरणमा महिला अन्दोलन’ नामक लघु चलचित्र सार्वजनिक गर्दै उहाँले समाजका हरेक योग्य महिलालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“हरेक समुदायका महिला कुनै न कुनै हिसाबले र हाम्रो सामाजिक कारणले पछि परेका छन्, अब योग्य महिलालाई समाजले नै अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक कुरिति र विकृतिविरुद्ध सबै एक हुनुपर्छ ।” सामाजिक जागरणको लागि सशक्त लेखनको आवश्यकता भएको बताउँदै नेता नेपालले महिला हिंसा, बलात्कार, जिउँदै जलाउनेलगायतका दुरव्यवहार मानव नभइ दानवले गर्ने गरेको टिप्पणी गर्नुुभयो ।

नेता नेपालले मुस्लिम समुदाय नामक पुस्तक लेखक एवं वृत्तचित्रका निर्देशक जैनव खातुनलाई आफ्नो समुदायभित्रको विकृति र विसङ्गतीविरुद्ध निरन्तर कलम चलाउन आग्रह गर्नुभयो । विमोचित पुस्तकमा नेपालका मुस्लिम समुदायको अवस्था, कला संस्कृतिसहित राजनीतिक अवस्थाका बारेमा चर्चा गरिएको छ । आज सार्वजनिक गरिएको वृत्तचित्रमा अनेम सङ्घका केन्द्रीय सदस्य गजकुमारी गुरुङको राजनीतिक आन्दोलन र उनको जीवनी समेटिएको वृत्तचित्रका निर्देशक खातुनले जानकारी दिनुभयो ।
रासस