‘जेसिजको मुलमन्त्रले सफल व्यवसायी’


न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गीले जेसिजले सिकाएको मुलमन्त्र समातेर आफू व्याबसायिक क्षेत्रमा लागेको बताउनुभएको छ ।
बुधबारदेखि चितवनको टाँडीमा सुरु नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आयोजित पेशागत विकासका लागि नेतृत्व र व्यक्तित्व विकाससँगै कसरी सफल व्यबसायी बन्न सकिन्छ भन्ने अन्तक्र्रियामा प्रशिक्षण दिँदै केन्द्रीय सदस्य सुमार्गीले नेपाल जेसिजकै मुलमन्त्रबाट आफू यो स्थानमा सबल बन्न सकेको बताउनुभएको हो ।

नेपालभरबाट राष्ट्रिय महाधिवेशनका लागि चितवनमा रहेका करिब ३ सय जेसिजकर्मीलाई प्रशिक्षण गराउँदै केन्द्रीय सदस्य सुमार्गीले आर्थिक सुशासनमा अनुशासनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

जेसिजले सिकाएको ज्ञान र प्रक्रियाहरु समाजमा जता पनि बिक्ने भन्दै उहाँले आफू जेसिजकै माध्यमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुगेको बताउनुभयो । हालको समयमा उद्योगी, व्यबसायी र जेसिजबीच भ्रातृृत्व सम्बन्ध रहेको आंैल्याउँदै उहाँले यस्तो सम्बन्धबाट अगाडि बढ्न आफूलाई सहजता मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

नेपाल जेसिजबाट पाएको प्लेटफर्मले व्याबसायिक क्षेत्रमा सपोर्ट मिलेको भन्दै उहाँले जेसिजबाट सिक्न सकिने व्याबसायिक पक्षबारे प्रष्ट पार्नुभएको थियो । जेसिजमा लागेको व्यक्ति कहिल्यै बिचलित हुनुनपर्ने भन्दै उहाँले पेशागत विकासका लागि आफूले खेल्नुपर्ने भूमिकामा कुनै कञ्जुस्याइँ नगर्ने विश्वास दिलाउनुभयो ।

जेसिजबाट सफल नेतृत्व बनेका लिडरबाट हालका जेसिजहरुलाई कसरी सक्षम व्याबसायिक नेतृत्व र व्यक्तित्व विकास गर्न सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको कन्भेन्सन डाइरेक्टरका सल्लाहकार श्याम पौडेलले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा हेटांैडा जेसिज पूर्वअध्यक्ष एवम् ४६ औं कन्भेन्सन डाइरेक्टर सल्लाहकार पौडेलले जेसिजबाटै व्याबसायिक क्षेत्रमा नेतृत्व गरिरहेकाहरुबाट धेरै कुरा सिक्न सकिने र सहयोग आदानप्रदान गर्न सकिने भन्दै यस्तो प्रशिक्षण राखिएको बताउनुभयो ।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि जिल्ला÷नगर उद्योग वाणिज्य संघमा जेसिजबाटै केन्द्रीय सदस्य सुमार्गीलाई उपाध्यक्षमा आफूहरुले समर्थन गरेको भन्दै सबैले मत दिएर जिताउनुपर्ने औंल्याउनुभयो । उहाँले जेसिज आफूहरुको घर भएकोले घरका सदस्य उद्योग वाणिज्य महासंघको नेतृत्वमा जान लाग्दा खुलेर समर्थन अनि सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल जेसिज पूर्वअध्यक्ष भोलेश्वर दुलालले जेसिजबाट सम्बन्ध बिस्तार गरेर आफू लुब्रिकेन्टस क्षेत्रमा सफल व्यबसायी भएको प्रष्ट पार्नुभयो । उहाँले जेसिजकर्मीमा कुनै पनि व्यबसाय गर्दा दिनुपर्ने सल्लाहका लागि आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्ण दुलालले पेशागत विकासमा जेसिजको मर्म मुलमन्त्र बनेको बताउनुभयो । जेसिजको आस्थालाई विचार गर्ने हो भने जुनसुकै ब्यापार व्यबसायमा सफल हुन सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसिजबाट अन्तर्राष्ट्रिय इभीपी बन्न सफल सन्तोष रिजालले जेसिजबाट धेरै कुराहरु सिक्न सकिने बताउँदै आँट र क्षमता विकासमा जेसिजको ठूलो भूमिका रहने बताउनुभयो ।

ललितपुर जेसिजका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य मनिष श्रेष्ठले जेसिजकै नेतृत्व गरेपछि आफू उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्न सफल भएको बताउनुभयो ।

उहाँले देशभर नेपाल जेसिजका सदस्य भएकोले यो परिवारभित्रका सदस्यहरुमा कुनै व्याबसायिक समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताउनुभयो ।