माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सम्पन्न


सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको आमाछोदिङमो गाउँपालिका —५ चिलिमेमा निर्माण भइरहेको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

आयोजना प्रमुख सुंदर सिंह महतका अनुसार ०६८ असोज २३ गते विद्युत खरिद सम्झौता (पि.पि.ए) भई कुल ७ अर्ब २४ करोडको लागतमा निर्माणधिन ४२ दशमलव ५ साञ्जेन तथा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत आयोजना चार सय ७४ मिटर पेनमा पाइप राख्नुपर्नेमा अब एक सय मिटर पाइप मात्र राख्न बाँकी छ ।

चालु आर्थिक वर्ष भित्रै विद्युत उत्पादन सुरु गर्नका लागी तीब्र गतिमा काम भइरहेको र आउदो असारभित्र विद्युत उत्पादन हुन्छ । अहिले आयोजनामा सुपर स्ट्रक्चर निर्माण गर्ने र इन्टर फेसको काम चलिरहेको आयोजना प्रमुख महत्तले बताउनु भयो ।

आयोजना २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो तर नाका बन्दी र भुकम्पका कारण लामो समय लागेको हो । यस आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको र एक महिनाभित्र पावर हाउसमा मेसिन इनस्टलेसनको काम सुरु हुनेछ ।