मेलाको दोस्रो दिन दश हजार दर्शकद्वारा अवलोकन


यमलाल भुसाल, बुटवल ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालित ‘औद्योगिक व्यापार मेलामा बिहिबार दोस्रो दिन दर्शकको उल्लेखनीय सहभागिता रह्यो । मेलामा बिहानैदेखि दर्शकको घुईचो लागेको थियो ।

मेलाको दोस्रो दिन बिहिबार सूर्य ग्रहण लागेको चिसो मौसमका बिच पनि १० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ । त्यस्तै मेलामा सांस्कृतिक कार्यक्रमले दर्शकलाई आकर्षण गरेको थियो । मेलामा बिहानदेखि लोक तथा आधुनिक गायकहरुको प्रस्तुतीले दर्शकलाई लोभ्याएको थियो ।

मेलामा ईन्द्रेणी समाजको दोहोरी कार्यक्रमले दर्शकको मन तानेको थियो । ईन्द्रेणी समाजका कलाकारको दोहोरी प्रस्तुतीले दर्शकलाई चनाएको थियो । ईन्द्रणीका सञ्चालक कृष्ण कंडेल सहितका कलाकारहरुको टोलीको दोहोरी कार्यक्रम १३ गतेसम्म रहने छ ।

बिहिबार लोक गायक गायिकाहरु मञ्जु पौडेल, चोलेन्द्र पौडेल, सीता राना, दिपक दर्लामी, आधुनिक गायक तुजु अर्याल लगायतको प्रस्तुती रहेको थियो । त्यस्तै वेलभरीया थारु संस्कृति समाज रुपन्देहीको संस्कृतिक सांगितिक नृत्य प्रस्तुती रहेको लोक सांस्कृतिक उपसमितिका संयोजक टंक गैरेले जानकारी गराउनु भयो ।

त्यस्तैगरी भोली शुक्रबार लोक तथा दोहोरी गायकहरु सम्झना लामिछाने, राजन कार्की लगायतका कलाकारको प्रस्तुती रहने छ भने स्थानीय न्यू सत्यसाई कला केन्द्रको प्रस्तुती सहित ईन्द्रेणीको दोहोरी कार्यक्रम सहित भ्वाईस अफ बुटवल हुनेछ ।