प्रादेशिक अस्पतालको विकासमा व्यवसायीले सहयोग गरेनन्: मुख्यमन्त्री पोखरेल


यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको विकास जरुरी रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेशको गौरवको रुपमा सञ्चालित अस्पतालको विकासमा व्यवसायीक संघ सस्थाहरुले असहयोग गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

बुटवलको रामनगरमा सञ्चालित गौतमबुद्ध सामुदायीक मुटु अस्पतालको वार्षिक उत्सव तथा सातौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गर्नुभयो ।

अस्पताल सुधार र विस्तारका लागि प्रदेश सरकारले योजना ल्याउंदा पनि व्यवसायीक संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत जाने तर सार्वजनिक समारोहमा ठूलाठूला भाषण गर्ने भन्दै आलोचना गर्नुभयो ।

उहांले अस्पतालभित्रको स्वास्थ्य सेवा कसरी चलेको छ भन्ने सबैले देख्न र जान्न पाउनुपर्ने भन्दै त्यसो हुन सकेमात्र अस्पताल भित्र बसेर नीजी अस्पतालमा सुटुक्क विरामी पठाउने काम बन्द हुने बताउनुभयो । कतिपय नीजी अस्पतालहरुले एम्बुलेन्स चालकलाई कमिशन दिएर विरामी किन्ने गरेको बताउंदै यस्तै गतिविधीका कारण बुटवल बदनाम हुंदै गएको मुख्यमन्त्री पोखरेलको भनाइ रहेका छ ।

उहांले प्रदेश ५ मा तिनवटा मेडिकल कलेज रहेरपनि स्वास्थ्यको हिसाबले पछाडी रहनु दुखद् कुरा भएको बताउनुभयो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्तरबृद्विमा प्रदेश सरकारले सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पतालका निर्देशक डा. समिर गौतम, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की, रामप्रसाद बस्याल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

मुटु अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता र दिनेशराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही कार्यक्रममा केही दिन अघि अस्पतालले आयोजना गरेको कविता प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने अस्पतालका ८ जना कर्मचारीलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो ।