सडक धमिलो, विज्ञापन उज्यालो


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर बहुमुखी क्याम्पस स्नातकोत्तरमा अध्ययनरत् सुदन पहेली भन्नुहुन्छ–राति पढेर घर फर्किनुपर्छ । नगरपालिकाले बत्ती राखे पनि बत्तीको प्रकाशजति विज्ञापन बोर्डले छेकिदिएका छन् । ती विज्ञापनले आफूहरुलाई बत्तीको उज्यालो भेट्न मुस्किल हुने पहेलीले गुनासो गर्नुभयो ।

केही वर्षयता हेटौंडा बजारका विभिन्न ठाउँमा सौर्यबत्ती तथा विद्युतीय बत्ती जडान गरिएको छ । नगरपालिकाले नै राखेका बत्ती जडान गर्दा बत्तीका पोलहरुमा विज्ञापनका बोर्ड थिएनन् ।

पछि नगरपालिकाको स्वीकृतिमा विभिन्न कम्पनीले विभिन्न वस्तु तथा सामग्रीको विज्ञापन बोर्ड राखे । बत्तीको उज्यालो बिस्तारै धमिलो हुँदै गए पनि विज्ञापन बोर्डका बत्ती भने चम्किला छन् । कुनै पनि बोर्डका विज्ञापन सचेतनामूलक छैनन्, मात्र व्यापारिक छन् ।

केही सयमअघिको कुरा हो । हेटौंडा नगरपालिकाले मापदण्डविपरीतका विज्ञापन बोर्ड राख्न कडाइ गरिने निर्णय गरेको थियो । तर, उक्त निर्णयबारे नियमन नगर्दा नगरभित्र विज्ञापन बोर्ड छ्याप्छ्याप्ती देखिएका छन् । नगरपालिकाका सूचना अधिकारी रामकृष्ण थापाका अनुसार विद्युत् र टेलिफोनलगायत पोलमा अनधिकृतढंगले राखिएका सबै प्रकारका बोर्ड हटाइने छ । उहाँका अनुसार डिजिटल होर्डिङ बोर्ड धेरैजसो करको दायरमा छन् । ‘करको दायरामा नआएकालाई कारबाहीसँगै दायरामा ल्याउन टोली बनाएर खटाउने तयारीमा छौं,’ थापाले भन्नुभयो ।

हेटौंडाका मुख्य बजार क्षेत्रका प्रत्येक पोलमा स्वरुप नै बिगार्ने गरी विज्ञापन बोर्ड टाँगिएका छन् । विभिन्न किसिमका होर्डिङबोर्ड, साइनबोर्ड, ग्लोसाइन बोर्ड, कम्पनीका प्रायोजन बोर्ड र पोलमा ब्यानर टाँगिदा व्यबस्थित, मर्यादित, सुरक्षित एवम् सहरी सौन्दर्ययुक्त बनाउन नगरपालिकाले भनेको छ । तर, त्यस्ता विज्ञापन हेटौंडा क्षेत्रमा नदेखिएको थापाकै भनाइ छ ।

थापाका अनुसार अनावश्यक ठाउँमा टाँगिएका विज्ञापन हटाइएको छ र हटाउने क्रम जारी राखिएको छ । यसका लागि दैनिकरुपमा बजारमा खटिने उहाँले दाबी गर्नुभयो ।

पोलको मात्र कुरा होइन, भवनको भुइँतलादेखि छतसम्म भरिभराउ बोर्ड झुण्ड्याइँदा हेटौंडाको सौन्दर्य त बिग्रिएको छ नै, रात्रिकालीन सुरक्षामा समेत गम्भीर प्रश्न उब्जिएको छ ।