नगर प्रहरीद्वारा श्रमिक कुटपिटविरुद्ध बुटवलमा प्रदर्शन


माधब अधिकारी, बुटवल ।

रुपन्देहीको बुटवलका फुटपाथमा पसल संचालन गरेका श्रमिक मजदुरले नगर प्रहरीले ज्यादती गरेको भन्दै बिहीबार प्रदर्शन गरेका छन्।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आयोजनामा गरिएको प्रदर्शन बुटवल बसपार्कबाट सुरु भई पुष्पलाल पार्क, ट्राफिक चोक हुँदै नगरपालिकामा पुगेर सकिएको थियो।

बुधबार नगर प्रहरीको टोलीले सडकको फुटपाथभन्दा बाहिर बदाम बिक्री गर्दै गरेका कृष्ण अर्यालमाथि कुटपिट गर्दा उनी गम्भीर घाइते भएका छन् ।

संघर्ष समितिका संयोजक इन्द्र नेपालीले श्रमिकहरुलाई कुटपिट गर्ने कहाँसम्मको अमानविय व्यवहार हो भन्दै आफूहरू प्रदर्शनमा उत्रिएको बताए।

त्यस्तै, संघका अध्यक्ष विष्णु पाण्डेले आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म सघर्ष जारी रहने बताए। ‘स्थानीय सरकारले उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइदिनु पर्यो । उनले भने– ‘की श्रमिकहरु स्थानीय सरकारका जनता होइनन्, यदि हुन भने उनीहरुले पनि जिविकोपार्जन गर्नुपर्यो ।‘

नगर प्रहरीले सिधै आएर सामानहरु सडकमा पोखिदिने, श्रमिकहरुलाई विभिन्न यातनासमेत दिने गरेको हस्पिटल लाईनको फुटपाथ छाडेर पसल गरेका मदन खनालले बताए । उनले  भने-‘ उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाई दिएमा हामी फुटपाथ छाड्न तयार छाैँ। तर श्रमिकलाई कुनै व्यवस्था नगरीदिने पसलमात्रै उठाउने, श्रमिकलाइ कुट्ने गरेर दिनदिनै दुःख दिन भएन ।’

‘तपाईहरुले आफ्नो व्यवस्था आफै गर्नुहोस, हामीबाट तपाईहरुलाई कुनै सहयोग गर्न सक्दैनौं‘ नगरपालिकाले भन्यो । खनालले भने ।

उपमहानगरपालिकाका एक अधिकारीका अनुसार बजार क्षेत्र अस्तव्यस्त भएकाले बसपार्क साइडमा ठेला तथा रिक्सामा सामान बिक्री गर्न दिएको छैन, फुटपाथमा पनि पसल सन्चालन गर्न दिएको छैन ।
एक हजारभन्दा बढी स्वरोजगार मजदुर बुटवलका फुटपाथमा ठेला, रेक्सालगाएत राखि विभिन्न सामानहरूकाे पसल सन्चालन गर्दै आएका छन् ।