पनौती नगरपालिकाले शुरु गर्‍यो पाडी वितरण, ८ सय ५२ को आवेदन

94
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

पनौती नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा आत्मनिर्भरसँगै श्रोत केन्द्रका रुपमा विकास गर्ने उदेश्यले कृषकहरुलाई पाडी वितरण शुरु गरेको छ । वडागत रुपमा माग गरिएका ८ सय ५२ कृषक मध्ये चालु वर्षमा ३ सयलाई पाडी उपलब्ध गराईनेछ ।

‘नगरपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर भैसी संरक्षण र सम्र्वद्धन गर्न शुरु गरेको छ’–नगर प्रमुख भिम न्यौपानेले भन्नुभयो–‘पाडी संरक्षण नहुँदा भैसी खरिदमा लाखौ रकम जोगाउन पाडी वितरण महत्वपूर्ण हुनेछ ।’ पनौती नगरपालिका वडा नम्वर १ बाट पाडी वितरण कार्यक्रम शुरु भएको छ ।

प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले गोलाप्रथाबाट छनौट भएकी भगवती सापकोटालाई पाडी हस्तान्तरण गर्नु भएको थियो । मुलुकको विकासका लागि भैसी संरक्षण अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने प्रदेश सभा सदस्य हुमागाईले बताउनु भयो । पाडी खरिदका लागि नगरपालिकाले ई विडिङ्ग मार्फत बोलपत्र प्रकाशन गरेको थियो । नगरपालिकाले पाडी खरिदका लागि दिलिपकुमार देउजाको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । वडा नम्वर १ मा ४२ जनाका लागि पाडी उपलब्ध गराईनेछ । जसमध्ये पहिलो चरणमा गोलाप्रथाबाट २३ जनाले पाडी प्राप्त गरेका छन् ।

पशुपालन ब्यवसायबाट कृषकहरुको जीवनलाई सहज र सार्थक बनाई स्वाबलम्बी र ब्यवसाय बनाउने उदेश्यका साथ भैसीपालक कृषकहरुलाई पाडी वितरण गरी उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले कृषकहरुसमक्ष सम्झौता गरेको छ । कृषकहरुलाई पाडीपालन सम्वन्धी प्राविधिक तथा नीतिगत विषहरुमा अभिमुखिकरण गराएर मात्रै वितरण गरिएको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताउनु भयो । पाडी वितरणका समयमा आवश्यक पर्ने मिनरल औषधी तथा परजिवी नाशक औषधिको मिनिकिट प्याकेज उपलब्ध गराएको छ भने २ लाख रुपैयाको दुर्घटना विमा गरिएको छ ।

पाडी वितरण पश्चात लगाउनु पर्ने खोरेत, भ्यागुते रोग विरुद्धको निशुल्क खोप वर्षेपिच्छे नगरपालिका आफैले लगाईदिने छ । पाडीहरु ब्याउने बखतसम्म नपाल्ने र नासमास गर्ने कृषकहरुबाट परल मुल्यमा २५ प्रतिशत थप सरकारी सम्पती दुरुपयोग गरेमा नगरपालिकाले कालोसूचीमा राखी वडा र नगरपालिकाबाट उपलब्ध गराउने अत्यावश्यक सेवा बाहेक हरेक सिफारिस ३ वर्ष रोक्का राख्नेछ । प्रति पाडी ३२ हजार १ सय ४५ रुपैया मुल्य परेको छ ।

कृषकहरुले पाडी प्राप्त गरेबापत ५ हजार नगरपालिकालाई बुझाएका छन् । एक वर्ष माथी २ वर्ष भित्रको प्रजनन योग्य मुर्रा क्रस पाडी एउटा उपलब्ध हुनेछ भने पाडी ब्याए पछी नगरपालिकाले कृषकलाई भैसी सुत्केरी भत्ता बापत ५ हजार उपलब्ध गराउनेछ । अघिल्लो आर्थिक वर्षबाट नगरपालिकाले शुरु गरेको भैसी भत्ता ५ सय ६७ भैसीपालक कृषकहरुले प्राप्त गरेका छन् । बाँझोपन रह्यो भने प्राविधिक समितिको सिफारिसका आधारमा विक्री गर्ने र अर्काे खरिद गर्न सकिनेछ । चालु वर्षमा वडा नम्वर १ मा ४२, वडा नम्वर २ मा ३५, वडा

नम्वर ३ मा ३०, वडा नम्वर ४,५,६,८,९,१०,११ मा २०/२० वटा, वडा नम्वर ७ मा ३ वटा र वडा नम्वर १२ मा ५० वटा पाडी वितरण हुनेछन् । कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत हरिप्रसाद चापागाईले कृषकहरुको लागि नगरपालिकाले शुरु गरेको अभियान महत्वपूर्ण रहेको बताउनु भयो ।