दुर्गम क्षेत्रका बालबालिकाहरुको समस्या ‘खाना र खाजा’ एकै पटक

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

दुर्गम क्षेत्र महाभारत र खानिखोला गाउँपालिकामा अध्ययन गर्ने बालबालिकाहरुका अनेकन समस्या मध्ये विद्यालय जाँदा र आउँदा भोकै बस्नु पर्ने प्रमुख समस्या बनेको छ । बालबालिकाहरुले विद्यालय टाढा भएका कारण विहान घरमा खाना खाएर गएपछि एकै पटक बेलुका खाना खाने गरेको पीडा सुनाएका छन् ।

जनमोहन माध्यमिक विद्यालय महाभारत गाउँपालिका वडा नम्वर ६ सल्लेनी बनखुको कक्षा ६ मा अध्ययन गर्ने १२ बर्षिया लक्ष्मी बोम्जन विद्यालय पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ । विहान ७ बजे घरबाट निस्कँदा लक्ष्मी १० बजे विद्यालय पुग्न हम्मेहम्मे पर्छ । विद्यालय छुटेर घर पुग्दा ७ बजिसकेको हुन्छ । घरमा खाना खाएर निस्किए पछि आक्कल झुक्कल बाहेक घरमै पुगेर मात्रै खाने गरेको लक्ष्ग्मीले बताउनु भयो । ७ बजे अगावै खाएर निस्किएको खानाकै भरमा झण्डै १३ घण्टा पछि लक्ष्मीले एकै पटक घर पुगेर खाने गर्नु भएको छ ।

बालबालिकाहरुका नैर्सिगिक अधिकारका बारेमा अभिभावकहरु चिन्तित नभएका पनि हैनन् । विद्यालय र स्थानीय सरकार गम्भिर नभएको पनि हैन तर भौगोलिक विकटता, पारिवारीक अवस्था र विद्यालयको भैतिक पूर्वाधार अभावका कारण महाभारत क्षेत्रका बालबालिकाहरु यस्तो समस्या भोग्न बाध्य छन् । महाभारत गाउँपालिकाका अधिकांश विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु दैनिक यस्तो समस्यासँग जुधिरहेका छन् ।

‘विहान उठेर घाँस काट्ने वा अरु कुनै काममा अभिभावकलाई सहयोग गरेर मात्रै विद्यालय आउने गरेका छौं’–कक्षा ६ मा अध्ययन गर्ने भावना मोक्तानले भन्नु भयो–‘घर पुग्दा भोक र थकाईले लखतरान हुन्छौै, एकछिन गृहकार्य गर्नै पर्‍यो, सुत्नु अगावै सकिएन भने विहानको जिम्मेवारी पुरा गर्नै कठिन छ ।’ कहिलेकाँहि भोकले घर पुग्नै नसक्ने गरी गाह्रो हुने गरेको विद्यार्थी निर्मला घलानले बताउनु भयो । घरबाट सधै खाजा ल्याउन सम्भव पनि नभएको र अभिभावकसँग पैसा माग्न आय श्रोत पनि नभएकाले विहान घरमा खाना खाएर निस्किए पछि एकै पटक साँझ घरमा पुगेर मात्रै खाना खानु पर्ने बाध्यता रहेको उहाँहरुले बताउनु भयो । विद्यालयमा छात्राबासको ब्यवस्था छैन । भएका केहि विद्यालयका छात्राबासमा विद्यार्थी बस्दैनन बरु शिक्षक आफै बस्ने गरेका छन् ।

भुकम्पका पछि घरहरुमा बस्न सक्ने अवस्था नरहेकाले शिक्षकहरु छात्राबासमा बस्ने गरेका हुन् । गोकुल मावी, जनकल्याण मावी लगायतका विद्यालयका छात्राबासमा शिक्षकहरु बस्ने गरेका छन् । विद्यार्थीहरु भने घण्टौ हिडेर विद्यालय आउँदा जाँदा ड्रप आउटको समस्या थपिएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल सरकारले सबै बालबालिकाहरुका लागि दिवा खाजा ब्यवस्था गरिएको बताउनु भयो । जिल्ला बाल भेलालाई उद्घाटन गर्दै गर्भ देखि नै बालबालिकाहरुको संरक्षण गर्ने गरी सरकारले ल्याएका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन विद्यालय तहमा बालबालिकाहरुलाई दिवा खाजाको ब्यवस्था गरिएको बताउनु भयो ।
प्राविमा कटौती, अन्यमा थपियो

विकट क्षेत्र महाभारत र खानीखोला गाउँपालिकामा दरवन्दी थपिएको छ । दरवन्दी नभएकै कारण बालबालिकाको पठनपाठनमा समस्या भएको लामो समय पछि दरवन्दी मिलान हुन लागेको हो । महाभारत गाउँपालिकामा १ सय ४५ जना शिक्षकको दरवन्दी थपिएको छ भने खानीखोलामा ९६ जना थप भएको छ । कक्षा ११ र १२ मा २ जना मात्रै दरवन्दी रहेको खानीखोलामा १३ देखाईएको छ । एक जना थप भएको छ । महाभारत पछि १ सय १९ जना शिक्षक चौरीदेउराली गाउँपालिकामा थप भएका छन् । बेथान्चोक गाउँपालिकामा ७५, तेमाल गाउँपालिकामा ६०, नमोबुद्ध र पाँचखाल नगरपालिकामा २९/२९ जना थप भएको छ ।

धुलिखेल नगरपालिकामा ३२ वटा दरवन्दी थप भएको छ । रोशी गाउँपालिमा १७, बनेपामा १ वटा दरवन्दी थप भएको छ । पनौती नगरपालिकाबाट ३३ वटा दरवन्दी काटिएका छन् भने भुम्लु गाउँपालिकाबाट २ वटा काटिएका छन् । मण्डनदेउपुर नगरपालिकामा ५५ जना प्रावि तहका कटौती भएर निमावीमा २३, कक्षा ९ र १० मा ३१, कक्षा ११ र १२ मा १ जना थप हुँदा बराबरी हुने भएको छ । जिल्लामा पहिलो मण्डनदेउपुर नगरपालिकाले दरवन्दी मिलान गरेको थियो । प्राथमिक तहमा रहेका ३ सय १७ वटा दरवन्दी जिल्लाबाट कटौतीमा परेका छन् ।

निमावी र कक्षा ९ र १० दुवैमा ३ सय ५१ वटाका दरले दरवन्दी थपिएका छन् भने कक्षा ११ र १२ मा १ सय ७३ दरवन्दी थपिएका छन् । सबैै भन्दा धेरै धुलिखेल र पनौती नगरपालिका भित्र रहेका प्रावि तहका ८१/८१ वटा दरवन्दी कटौतीमा परेको छ । बनेपा नगरपालिकाको ६४ वटा, मण्डनदेउपुरमा ५५, तेमालमा ८१, पाँचखालमा ३३, रोशीमा ११, भुम्लुमा २९, नमोबुद्धमा ८१ वटा दरवन्दी कटौती भएका छन् ।

महाभारतमा सबै भन्दा धेरै प्रावी तहमै ६० वटा दरवन्दी थपिएका छन् भने खानीखोलामा ३२ वटा थपिएका छन् । चौरीदेउरालीमा २५ वटा, बेथान्चोकमा ८ वटा दरवन्दी प्रावी तहमा दरवन्दी कटौतीमा परेका छन् ।

काभ्रेमा २ हजार ९२ प्राथमिक तह, निमावीमा ५ सय ७५, मावि तह कक्षा ९ र १० मा ४ सय ५३ र कक्षा ११ र १२ मा १ सय २५ जना शिक्षकहरु कार्यरत थिए ।