चार पूर्व ज्येष्ठ राजदूत सम्मानित

0
Shares

काठमाडौं, (नेस)।

नेपालले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर राखेर मित्रराष्ट्रसँग कूटनीतिक सम्बन्ध विस्तार गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिनुभएको छ।

नेपालको भू–राजनीतिक अवस्था र आर्थिक विकासको चाहनाअनुसार परराष्ट्र सम्बन्ध बलियो बनाउनुपर्ने उहाँको भनाई छ।

नेपाल पूर्वराजदूत संघ (आफ्ना)ले बुधबार राष्ट्रपति कार्यालयमा पूर्व ज्येष्ठ राजदूतहरूलाई गरेको सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो विचार व्यक्त गर्नुभएको हो।

आफ्नो कार्यकालमा राजदूतहरूले निर्वाह गरेको भूमिका, विस्तार भएको सम्बन्ध, ज्ञान र अनुभव सँधै स्मरणीय बन्ने उहाँले बताउनुभयो।आफ्ना परराष्ट्रसेवा बाहेक अन्य क्षेत्रबाट राजदूत भएकाहरूको संस्था हो।

सोही अवसरमा राष्ट्रपति भण्डारी र संघका कार्यवाहक अध्यक्ष डा. शम्भुराम सिंखडाले पूर्व जेष्ठ राजदूतहरू योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्राडा मोहन लोहनीलाई सम्मान गर्नुभयो।

आफ्नाले पूर्व राजदूतहरू भेषबहादुर थापा, खड्गजित बराल र रुक्म शम्सेर राणालाई पनि सम्मान गर्ने तयारी गरेपनि उहाँहरू कार्यक्रममा अनुपस्थित रहनुभएको थियो।

८० वर्ष उमेर पार भएका पूर्वराजदूतहरूलाई सम्मान गरिएको संस्थाले प्रष्ट्याएको छ। सो अवसरमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको राजनीतिक संक्रमणको समयमा मुलुकको छवी र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउन पूर्व राजदूतहरूको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो।

सक्षम व्यक्ति राजदूत नियुक्त हुँदा मुलुकको अन्तर्राष्ट्रिय छवी र परराष्ट्र नीति सफल बन्ने उहाँको भनाई थियो।