पक्राउ परेका चिनियाँलाई चीन फर्काउन तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

गैरकानुनी रूपमा नेपाल प्रवेश गरी अवैध धन्दामा संलग्न रहेका चिनियाँ नागरिकहरू विरुद्ध अभद्र व्यवहार कसूरमा कारवाही गर्ने तयारी प्रहरीले गरेको छ।
प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडांैको संयुक्त टोलीले राजधानीका विभिन्न ९ वटा घरमा छापा मारेर १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो।

प्रहरीको संयुक्त टोलीले एकैसाथ छापामारेर ७ सय ४७ थान मोवाईल, ल्यापटप ३ सय ३१ थान, सीपीयू ९८ थान, मोनिटर ९९ सय थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३ सय २७ थान, पासपोर्ट ६७ थान बरामद गरेको सीआईवीका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज शाहीले जानकारी दिनुभयो।

तीन महिना अघि निकारागुवाको राजधानी सान्टीयागोमा भएको इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन नेपालबाट सहभागी हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक र चिनियाँ प्रहरी महानिरीक्षकबीच भएको कुराकानीका क्रममा नेपालमा बसेर चिनियाँ नागरिक विभिन्न अपराधमा संलग्न भएकाले कारवाहीको दायरामा ल्याउने सहमति अनुसार उक्त अपरेशन गरिएको डीआईजी शाहीले जानकारी दिनुभयो।

नेपाल प्रहरीको इन्टरपोल र चिनियाँ प्रहरीको इन्टरपोलबीच भएको कुराकानी र सहयोगको कारण उक्त अपरेसन गर्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो। नेपालमा बसेर चीनका धनाढ्य युवती र एकल महिलालाई आफ्नो प्रेम जालमा पारेर रकम आफ्नो खातामा लिने र उनीहरूसँगको सम्पर्कविच्छेद गर्ने जस्ता काममा संलग्न रहेका उनीहरू मध्ये ५५ जना चिनियाँ नागरिकको पासपोर्ट नै फेला नपरेको प्रहरीले जानकारी दिएको छ।

नेपालमा पक्राउ परेका ती चिनियाँ नागरिकलाई नेपाल सरकारले चिन सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। चिन सरकारले पनि उनीहरूलाई नेपालबाट आफ्नै मुलुकमा लगेर कारवाही गर्ने तयारी गरेको छ। चीनको विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ।