खोइ त समाजवाद ?


अस्थिर सरकारका कारणले देशको समृद्धि र विकास भएन, त्यसैले स्थिर सरकार चाहिन्छ भनियो। स्थिर हुनको लागि दुई तिहाइ बहुमत चाहिन्छ, त्यो मत जनताले दिनुपर्छ भनियो। एकपटक होइन, हजारौँपटक भनियो। मत आयो भने त देश कायापलट नै हुन्छ भनेर बहुमतको प्रचार गरियो।

समाजवादको लागि बहुमत भनियो। समाजवादको प्रचार गरियो। तर आज समृद्धि र समाजवादको प्रचार फगत प्रचारबाजी मात्रै भएको छ। समाजवाद कसरी आउँछ ? कुनै खाका दिएको छैन।

अल्मलमा पारिएको छ। विश्वका शासन व्यवस्था हेर्ने हो भने खास समाजवादी शासन व्यवस्था कतै पनि देखिँदैन। सारमा हेर्दा पुँजीवादमा रूपान्तरित छन्।

आज नेपालमा दुई तिहाइको हल्ला छ। दुई तिहाइको बडो प्रचारबाजी छ। संख्याको राजनीति र होडबाजी छ। दुई तिहाइको सरकार छ। संसद्वादी कम्युनिस्टहरूको सरकार छ। सबै छ, तर पनि समाजवादी सरकार छैन। जनताको सरकार छैन। बेरोजगारीहरुको सरकार छैन। नेपाली चेलीहरुको सरकार छैन।

विदेशिएका लाखौंलाख युवाहरुको सरकार छैन। किसान, मजदुरको सरकार छैन। इमानदार र स्वाभिमानीहरुको सरकार छैन। हुन त फेरि पनि नेपालमा दुई तिहाइको सरकार छ। दुई तिहाइको सरकार आएपछि समाजवाद आउने हल्ला गरिएको थियो।

शायद दुई तिहाइ र समाजवाद फरक कुरा हो। दुई तिहाइको सरकार भएर पनि नहुने रहेछ। जनताको सरकार हुनुपर्दो रहेछ। समाजवादी सरकार हुनुपर्दो रहेछ। दुई तिहाइको सरकारले त्यही दुई तिहाइको हल्ला गर्न मात्रै ठिक्क छ। जनताको सरकार हुन कुनै तिहाइ चाहिँदैन पक्कै।

जनताका पिर, मर्का र समस्या बुझी समाधान गरिदिए पुग्छ। समृद्धि र समाजवादका सपना देखाएर निजी सम्पत्ति थुपार्नको लागि जे पनि गर्न तयार हुने जमात खडा गर्ने सरकार दुई तिहाइको त हुन सक्ला तर समावाजवादी कदापि हुन सक्दैन। यो समृद्धि र समाजवाद ल्याउने सरकार पनि हुनै सक्दैन।

जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापारको वस्तु बनाइन्छ त्यो देशमा समाजवाद हल्ला मात्रै हुन्छ। समाजवाद खोइ ? कि यो आउँदैन ? देश स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारले आक्रान्त र थिलोथिलो परेको छ। शासन सत्तामा बसेकाहरुमा ठगेर, लुटेर व्यक्तिगत सम्पत्ति जोड्न हतारो छ भने कसरी आउँछ समाजवाद ?

कसले ल्याउँछ समृद्धि ? देशका आमजनता एक ट्याब्लेट सिटामोल खान नपाएर मर्छन् तर यहाँका उच्चपदस्थ एवं शासकवर्गहरु करोडौं खर्च गर्दै विदेशमा सयर हुन्छन् भने कहाँ केका लागि आउँछ समाजवाद ? सरकारले कुनै एउटा क्षेत्रमा पनि समाजवादी नीति नै बनाएको छैन भने कुन समाजवादको हल्ला भइरहेको छ यहाँ ?

शासकले जनतालाई उत्पादनमा जोड्ने नीति नै बनाउन सक्दैन र युवाहरुलाई विदेशी भूमिमा पसिनाका धार बगाउन बाध्य पारी आएको रेमिट्यान्सबाट मोजमस्ती गर्छ। शासकले उद्योगधन्दाको विकास एवं सामूहिक पूँजीको विकास गर्न नै दिँदैन अनि यहाँ कसरी आउँछ समाजवाद ?

देशका राजनीतिक दल, नेता तथा कार्यकर्तासम्मले जीवनभर कुनै उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको चन्दाको भरमा आरामको जीवन व्यतीत गर्नुलाई उनीहरुले आफूलाई क्रान्तिकारी र समाजसेवीको संज्ञा दिई हिँड्छन्। अनि कसरी आउँछ यहाँ समाजवाद ?

देशका शासकले राजनीतिक भागवण्डाका आधारमा जनशक्ति व्यवस्थापन गर्दछ अनि सरकारी कार्यालयहरुमा विभिन्न दल निकटका भ्रातृ संगठनका झन्डा झुन्ड्याएर जनताको सोवा होइन कि ट्रेड युनियनको नाममा राजनीति गर्न छुट दिन्छ भने त्यो शासकले कसरी ल्याउँछ समाजवाद ?

समाजवादी व्यवस्थामा जाने नै हो भने शिक्षा र स्वास्थ्यलाई पूर्णरूपमा सरकारी र गुणस्तरीय बनाउनु अत्यन्तै जरुरी छ। संस्थागत र नीतिगत भ्रष्टाचारको अन्त्य गरिहाल्नुपर्छ। जनता र युवाहरुलाई उत्पादनमा जोड दिनुपर्छ। समाजवादी नीति र कार्यक्रम बनाई लागू गरिनुपर्छ।

सबैको पहुँच हुने अस्पताल देशका विभिन्न स्थानहरुमा खडा गरिनुपर्छ। रेमिट्यान्सलाई मोज होइन उद्योगधन्दा र विकासमा लगानी गर्नुपर्छ।

सरकारी निकायमा दलको राजनीति निस्तेज पारिनुपर्छ। लेबी, चन्दा र भ्रष्टाचारमा बाँचेकाहरुलाई आफूले काम गरी खाने कुरा सिकाउनुपर्छ। बल्ल समाजवादको बाटो हिँड्न सकिन्छ।

– सम्पन्न शाक्य, कपुरधारा, काठमाडौं।