धार्मिक सभ्यता


धार्मिक आस्था व्यक्तिको नैसर्गिक अधिकार हो। यसमा कसैको हस्तक्षेप हुनुहुँदैन। कुन धर्म रोज्ने भन्ने विषय व्यक्तिगत स्वतन्त्रतासँग गाँसिएको विषय हो। यो लोकतन्त्रको आधारभूत मूल्य र मान्यतासँग सम्बन्धित विषय हो।

२०६२–२०६३ को जनआन्दोलनपछि नेपालमा क्रमशः धर्मनिरपेक्षताको मान्यता स्थापित हुँदै गएको छ। इसाई, इस्लामिक र अन्य धर्मावलम्बीहरूको पर्वमा राष्ट्रप्रमुख र सरकारप्रमुखदेखि दलका नेताहरूले समेत शुभकामना सन्देश वक्तव्य प्रकाशित गर्ने गरेका छन्।

हिजो डिसेम्बर २५ का दिन क्रिसमसका उपलक्ष्यमा नेपालका इसाई धर्मावलम्बीहरूलाई पनि यस्ता सन्देशहरू प्राप्त भए, उनीहरूलाई आफ्नो प्यारो पर्व आत्मसम्मानका साथ मनाउने वातावरण सिर्जना भयो। यसलाई धार्मिक सभ्यताका रूपमा स्वीकार गरिनुपर्दछ।

अमुक धार्मिक आस्था राखेको वा कुनै धर्म मानेकै आधारमा देशका कुनै पनि नागरिकले आफू विभेदमा परेको महसुस गर्नुनपर्ने अवस्थाको सिर्जना गराउनु राज्यको प्राथमिक दायित्व हो। राज्यको यो दायित्व व्यक्तिको समानताको हकको मर्म पनि हो।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र र संविधानको मौलिक हकसँग पनि जोडिएको यस विषयलाई व्यवहारमा प्रत्याभूत गर्न राज्य हरहमेशा तयार भइरहनुपर्दछ। क्रिसमसको दिन राष्ट्रप्रमुख र कार्यकारी प्रमुखबाट शुभकामना सन्देश आउनुलाई सोही हक र दायित्वको प्रतिबद्धताको रूपमा लिन सकिन्छ।

लोकतान्त्रिक व्यवस्थाको आगमन अघिसम्म राज्यले एक धर्म, एक भाषा र एक संस्कृतिलाई पक्षपोषण गरेको थियो। हिन्दू अधिराज्यका रूपमा नेपालको परिचय बनेको थियो। तर आज हामी धर्मनिरपेक्ष मुलुक भएका छौं, सबै धर्म र संस्कारलाई समान सम्मान दिने कानुनी आधार तयार भइसकेको छ भने यस प्रकारको व्यवहार नगरी पक्षपातपूर्ण आचरण देखाउने व्यक्ति वा संस्था सजायको भागिदार हुने अवस्था छ।

तर, नेपालमा अधिनायकवादी र अनुदार शासक हुँदा पनि नेपालमा धार्मिक सहिष्णुता भने कायम थियो, धार्मिक विवाद हामीले सहनुपरेन। छिमेकी मुलुक भारतमा जसरी धार्मिक विवाद चर्किने गरेको छ, हामीले त्यस प्रकारको नियती भोग्नुपरेन।

धार्मिक स्वतन्त्रता र समानता नै धर्मनिरपेक्ष राष्ट्रको प्राण हो जसलाई नेपालको संविधानले पनि सुनिश्चित गरेको छ। अर्कोेतर्फ धार्मिक आस्था व्यक्तिगत स्वतन्त्रतासँग जोडिएकाले करकापमा धर्म परिर्वतन गराउने खेल कसैले पनि खेल्नुहुँदैन।

स्वविवेकले कसैले आस्था परिर्वतन गर्दछ भनेर त्यसलाई स्वाभाविकरूपमा लिनुपर्दछ। धर्मलाई भोटको राजनीतिको विषय बनाइनुहुँदैन। यस प्रकारको दिशामै नेपालको राजनीतिक मूलधार अघिबढेको देखिन्छ। यसलाई सुखद मात्र होइन, गौरवपूर्ण सम्पत्तिका रूपमा लिनुपर्दछ।

यी आदि सकारात्मक पक्ष हुँदाहुँदै पनि राजनीतिक मूलधारइतरका शक्तिहरू नेपाललाई धर्मसापेक्ष राष्ट्र घोषणा गर्नुपर्ने, खास धर्मबाहेक अन्य धर्मका गतिविधिमा नियन्त्रण गर्नुपर्ने माग राख्दै आफूभन्दा इतर धर्मका अनुयायीहरूलाई स्वीकार नगर्ने चरित्र देखाइरहेका छन्।

यसलाई धार्मिक सम्पन्नताको परिचयका रूपमा लिनसकिन्न। समृद्ध नेपाल र सुखी नेपाली हुनका लागि धार्मिक सम्मान र समृद्धि पनि आवश्यक छ। राष्ट्रपति र कार्यकारी प्रमुखबाट क्रिसमसजस्ता दिवसमा आउने शुभकामना सन्देशहरू त्यसकै संकेतहरु हुन्। यसलाई सबैले स्वागत गर्नु आवश्यक छ।