वातावरण बने सरकारमा जान्छौं : राजपा

वातावरण बनिसक्यो : सरकार

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीसँग दुईबुँदे सहमति गरेको राष्ट्रिय जनता पार्टी दबाबमा परेको छ। जनता पार्टी सरकारमा जाने कि समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने विषयमा दबाबमा परेको हो।

दुईबुँदे सहमति भएको दुई दिनपछि संविधान संशोधनमा सरकार बेवास्ता गरेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली राजपालाई सरकारमा सहभागी गराउने तयारीमा रहनुभएको बताइएको छ। तर राजपाले सरकारमा सहभागी हुनका लागि पहिलो सर्तका रूपमा पुनः संविधान संशोधन गर्नुपर्ने अडान दोहोर्याएको छ।

राजपाले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा रहेको मुद्दाको सम्बोधन, उपसभामुख, सरकारमा सहभागी हुँदा मन्त्रालयलगायतको विषयमा प्याकेजमै सहमति खोजेको छ।

राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले सरकारले वातावरण बनाएको अवस्थामा मात्र सरकारमा जान सक्ने विषयमा सोच्न सकिने बताउनुभयो।

उहाँले नेपाल समाचरपत्रसँग भन्नुभयो– ‘संविधान संशोधनको ग्यारेन्टी सरकारले गर्नुपर्छ, हाम्रो मुख्य माग नै संविधान संशोधन हो, त्यो सम्बोधन भएपछि हामीलाई सरकारमा सहभागी हुन कुनै गाह्रो विषय छैन।’

समाजवादी पार्टीसँग पार्टी एकीकरण हुन्छ कि हुन्न भन्ने जिज्ञासामा यादवले राष्ट्रिय सभाको निर्वाचनपछि एकताका लागि वार्ता र संवाद अगाडि बढाइने बताउनुभयो।

‘राजपा र समाजवादी पार्टीको शीर्ष तहमा औपचारिक छलफल शुरू भएको छ, समाजवादीसँग पार्टी एकीकरण हुने सम्भावना छ’ –उहाँले भन्नुभयो।

राजपाले समाजवादी पार्टीले सरकारबाट बाहिरिएको अवस्थामा मात्र पार्टी एकीकरणको ढोका खुल्ने सर्त राख्दै आएको छ। सरकारबाट राजीनामा दिएको समाजवादीले अब दुई पार्टीबीचको एकता राजपाको निर्णयमा भर पर्ने बताएको छ।

समाजवादी पार्टी संविधान संशोधनको मुद्दा लिएर पुनः जनताको बीचमा जाने रणनीतिमाा रहेको छ। संविधान संशोधनप्रति नेकपा नेतृत्वको सरकारले बेवास्ता गरेको भन्दै यसअघि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्ष दलको भूमिकामा रहेको छ। तर दुईबुँदे सहमतिले सरकार र राजपाको सम्बन्ध नजिकाएको छ।

सरकार प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले राजपा सरकारमा सहभागी हुने वातावरण तयार भएको बताउनुभयो।

उहाँले नेपाल नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएको दलसँग दुईबुँदे सहमति नै सरकारमा आउने वातावरण हो।’

उहाँले संविधान आवश्यकता र औचित्यको आधारमा संशोधन हुन सक्ने उल्लेख गर्दै अहिले संविधान संशोधनको मागको अर्थ नभएको बताउनुभयो।

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/Eyc3w-IOok4