‘विमान दुर्घटना’ को खबर दिइएपछि…

0
Shares

रोशन पराजुली, हेटौंडा।

स्थानीयले ‘विमान दुर्घटना’ भएको खबर दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीलाई तत्काल घटनास्थलमा पठाउनुभयो।स्थानीयले फोनमार्फत प्रहरीलाई यसबारे लगातार ‘जानकारी’ गराए।

हेलिकोप्टर दुर्घटनाको आशंकापछि तत्काल प्रहरी त्यसतर्फ परिचालित भयो। प्रहरी मात्र कहाँ हो र, सेनाले पनि धूवाँको मुस्लो देखिएपछि फास्टट्रयाकको लेनडाँडामा रहेको सैनिक पोस्टबाट एउटा टोली सर्च अपरेसनमा खटायो।

मकवानपुरगढीको सुकौरा र बकैया–१२ को ठिंगन सीमामा दुर्घटना भएको आशंका गाउँलेले गरेका थिए। स्थानीयले दुर्घटनाको अनुमान गरेपछि नजिकका प्रहरी चौकीहरु चौघडा र ठिंगनबाट उक्त स्थानतर्फ प्रहरी पुग्यो।

बतासेडाँडामा स्थानीयको जाने क्रम बढ्दै गयो। शिवम् सिमेन्टको खानी क्षेत्रमा पर्ने डाँडाको खोंचबाट धूवाँको मुस्लो आएपछि स्थानीय त्यसतर्फ गएका थिए। सुकौराबाट घटनास्थल भनिएको क्षेत्र करिब दुई घण्टा दुर्गममा पर्दछ।

मकवानपुरगढी, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाको सीमामा रहेको बतासेडाँडाको खोंचमा स्थानीयले बुधबार विहान धूवाँको फरक ढंगको मुस्लो देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेका थिए। बिहान करिब १० बजे आगोको मुस्लो देखिएको थियो।

प्रहरी र स्थानीय उक्त स्थान पुग्दा पो थाहा भयो कि त्यहाँ डँढेलो लागेको रहेछ। उक्त स्थानमा पुगेको प्रहरीले यसको पुष्टि गरेपछि प्रहरी उपरीक्षक सिंहले भन्नुभयो– ‘बिहानदेखि तीन घण्टा प्रहरी र स्थानीयले निकै मेहनत गर्नुपर्यो। उक्त स्थान मकवानपुरगढी गाउँपालिका–७ को बतासेडाँडा हो।’

करिब दुई घण्टा पैदल यात्रापछि मकवानपुरको बकैया गाउँपालिका–१२ र मकवानपुरगढी गाउँपालिका–७ को सिमानामा रहेको बतासेडाँडामा पुगेका स्थानीय नेत्र कार्कीले मकवानपुर प्रहरी उपरीक्षक सिंहलाई फोन सम्पर्क गरी दुर्घटना नभएको र वनमा डँढेलो लागेको जानकारी दिनुभएको थियो।

‘स्थानीयको आशंकाकै भरमा दुर्घटनाको हल्ला फैलियो,’ प्रहरी उपरीक्षक सिंहले भन्नुभयो– ‘आखिर डँढेलो लागेको पुष्टि भयो।’ उक्त क्षेत्रमा गोठाला गएकाहरुले आगो ताप्न बालेको आगोबाट डँढेलो फैलिएको अनुमान छ।

स्थानीयले ठूलो आवाजसँगै धूवाँको मुस्लो आएको भने पनि डँढेलो लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो। अप्रत्याशितरूपमा आगोको मुस्लो देखिनु र उक्त क्षेत्र विमानको रुटसमेत भएकाले स्थानीयले दुर्घटनाको आशंका गरेको हुन सक्ने उहाँको भनाइ छ।

प्रहरी उपरीक्षक सिंहका अनुसार त्रिभुवन विमानस्थलसँग जानकारी लिँदा विमान वा हेलिकोप्टरले नियमित उडान भरिरहेको बताएको छ।२०६७ भदौ ८ गते विहान करिब ७ः३० बजे अग्नि एयर सोही क्षेत्रमा दुर्घटनामा परेको थियो।

अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा १४ जनाको ज्यान गएको थियो। जहाँ हरेक भदौ ८ गते विशेष पूजा गर्ने गरिएको छ। बस्तीपुरको बकिया ठाकुर निम्न माध्यमिक विद्यालयनजिक जहाज दुर्घटनामा परेको थियो।

बकिया ठाकुरलाई सहयोगका निम्ति फाउन्डेसन खडा गरिएको थियो, जसले हाल देशभर आफ्नो सहयोग बिस्तार गरेको छ। विद्यालयको खेतमा निर्मित स्तूपमा राखिएको ताम्रपत्रमा सबै १४ मृतकको नामावली समावेश छ।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/nrDDHjN9p24