राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशस्तरीय तयारी

0
Shares

सुनील महर्जन, काठमाडौं।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता भएसँगै आयोगले निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ।सातैवटै प्रदेशमा निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत नियुक्तिसँगै निर्वाचनका लागि प्रदेशस्तरीय तयारी शुरू भएको हो।

यही माघ ९ गते हुने निर्वाचनका लागि पुस २० गते निर्वाचनको कार्यक्रम शुरू हुनेछ। त्यसका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, अन्य व्यवस्थापकीय र प्रक्रियाको तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल समाचारपत्रलाई बताउनुभयो।

निर्वाचन प्रयोजनका लागि ११ वटा दल आयोगमा दर्ता भएका छन्। निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेकोमा दलहरु दर्ता भएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनुभयो। दर्ता हुने दलहरुलाई आयोगले चुनाव चिन्हसमेत प्रदान गरिसकेको छ।

प्रवक्ता शर्माका अनुसार दर्ता हुने दलहरुमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी रहेका छन्।

नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरिएको हो।

त्यसै गरी ७ वटै प्रदेशमा निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ। सम्बन्धित प्रदेशको निर्वाचन हुने सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको थियो।

प्रदेश १ को निर्वाचन मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको डोटीमा निर्वाचन हुनेछ।

निर्वाचन अधिकृत हुनुभएका सम्बन्धित जिल्ला अदालतका न्यायाधीशहरुमा क्रमशः मेदिनीप्रसाद पौडेल, राजकुमार खतिवडा, महेन्द्रबहादुर कार्की, काजीबहादुर राई, रितेन्द्र थापा, राजेन्द्रकुमार आचार्य, विदुर काफ्ले, कैलाशप्रसाद सुवेदी रहनुभएको छ।

हाल राष्ट्रिय न्यायिक प्रतिष्ठानको काजमा रहनुभएका जिल्ला न्यायाधीश दिवाकर भटृलाई पनि मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको आयोगले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिलगतै मुख्य निर्वाचन कार्यालय स्थापनापछि निर्वाचन कार्यक्रम शुरू हुने पनि आयोगले जनाएको छ। राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २० गते निर्वाचन कार्यक्रम शुरू हुनेछ।

७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५ सय ५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन्। उनीहरुको मतभार भने फरकफरक हुन्छ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ।राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि फागुन २० गते सकिँदै छ।

निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिन लागेको हो। राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/Eyc3w-IOok4