‘विदेशीका लागिसमेत साइकल लेन महत्वपूर्ण’


न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले सुरु गरेको साइकल लेनलाई अन्य नगरपालिकाले पनि सुरु गर्न प्रस्ताव गरेका छन् ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा आयोजना गरेको काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका प्रमुखहरुसँगको छलफलमा महर्जनले साइकल लेनलाई विदेशीले खुब मन पराउने रैछन, भन्दै ललितपुरबाट सुरु भएको साइकल लेनलाई अन्य नगरपालिकासँग जोड्न आग्रह गरे ।

पर्यटकबीच नेपालको छवि नबिग्रियोस भनेर महानगरपालिकाले सरसफाईलाई मुख्य प्राथमिकता दिइएको उनले जानकारी दिए । ‘हामीले सफाईलाई मुख्य प्राथमिकता दिएका छौं, काठमाडौंको सिको गर्दै ब्रुमर किन्यौ, त्यसले सडक बढाइरहेको छ,’ उनले भने ‘सडकको दायाँबायाँ वृक्षारोपण गरिएको छ, हिउँदमा रुख नमरोस भनी ट्यांकरबाट नियमित रुखमा पानी राख्ने काम भइरहेको छ ।’

ललितपुरको मुख्य पर्यटकीय गन्तव्य पाटनमा पर्यटकको बसाइ अवधि लम्ब्याउन प्रयास भइरहेको समेत उनले जानकारी दिए । ललितपुरमा पुनर्निर्माणका धेरै काम सकिने क्रममा रहेको उनले बताए । भ्रमण वर्ष अवधिभर विभिन्न खाका नै बनाएर काम अगाडी बढाइएको महर्जनको भनाइ छ ।