राजपा सरकारमा ईन्ट्री गर्ला त, यस्ता छन् एजेन्डा


न्युज अफ नेपाल, काठमाडौँ ।

समाजवादी पार्टीले सिंहदरबार छाडेपछि अब राजपा नेपालको प्रवेश हुने चर्चा सुरु भएको छ । तर यसबारे अहिलेसम्म राजपा नेपालको आधिकारिक धारणा आइसकेको छैन ।

समाजवादी पार्टीका नेताहरुले आफूहरुले सरकार छाडेपछि राजपा नेपाल सरकारमा सहभागी हुने दावी गर्दै आएका थिए । यहाँसम्म कि समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पनि यो कुराले प्रमुखता पाएको थियो ।

राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाबाट विगतदेखि नै राजपा नेपाललाई सरकारमा सहभागी हुन आग्रह हुँदै आइरहेको तर आफ्नो माग र एजेण्डामा अडिग रहेको कारण सहभागी नभएको दावी गरे ।

अहिले पनि नेकपाले सरकारमा सहभागी हुन आग्रह गरेको तर यसबारे पार्टीभित्र छलफल भइनसकेको उनले बताए । उनले भने– ‘राष्ट्रियसभा चुनावका लागि भएको दुई बुँदे सहमतिमा पनि सहकार्यको कुरा उल्लेख छ, जति हदसम्म कुरा मिल्छ, त्यति हदसम्म सहकार्य हुन्छ, कुरा नमिलेसम्म सहकार्य आगाडि बढ्दैन ।’
समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकीकरणका लागि राष्ट्रिय जनता पार्टी (राजपा)सँग कुरा गरिरहेको बताएका छन्।

राजपाले संसद बैठकमै चर्काेसँग उठाउँदै आएको रेशम चौधरीको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग समेत पूरा भएका छन् । रेशम चौधरीलाई अदालतबाटै सजाय निर्धारण भइसकेकाले यो विषय झनै जटिल बनेको अवस्थामा राजपालाई ओली सरकारमा जानु सहज छैन ।

राजपाले समाजवादीलाई सरकारबाट बाहिर पुर्‍याउन ‘एकीकरण कार्ड’ प्रयोग गर्न खोजेको थियो तर उपेन्द्रले त्यो शर्तलाई तुरुन्तै स्वीकार गरेनन् । अहिले त्यही ‘एकीकरण कार्ड’लाई उपेन्द्रले राजपालाई सरकारमा जानबाट रोक्न प्रयोग गर्ने देखिएको छ ।

यादवले भने, ‘राजपासँग पार्टी एकीकरणका लागि कुरा गरिरहेका छौं। यो घटनाक्रमले राजपाको माग पुरा भएको छ। अब हेर्नुछ, के भन्नुहुन्छ उहाँहरु।’

पार्टी एकीकरणका धेरै विषय टुंगिएको उनले बताए। यस्तो अवस्थामा राजपाले आत्मघाती कदम चाल्छ भन्ने आफूलाई नलागेको यादवको भनाइ थियो।

राजपाले आत्महत्या गर्छ अथवा आत्मघाती कदम चाल्छ भन्ने विश्वास छैन, यादवले भने।

त्यस्तै पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले प्रतिपक्षमा बसेर संविधान संशोधनको माग अघि बढाउने बताए। उनले संविधान संशोधनका लागि सडक संघर्ष गर्न पार्टी बाटो खुला भएको बताए।