वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

0
Shares

मनिषा केसी, रुकुम ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० नम्बर वडा कार्यालयमा मंगलबार राती अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयमा तोडफोड गरी त्यहाँ रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत सामान जलाएको प्रहरीले जनाएको छ ।

राती १ बजेतिर वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयलाई प्रहरीलाई खबर गरेका थिए । वडा कार्यालयका फर्निचर, वडा अध्यक्ष र वडा सचिवको कुर्सीका साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलाइएको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिनुभयो ।

आगजनीबाट वडा कार्यालयको अनुमानित २ लाख बराबरको सामाग्री क्षति भएको उहाँको भनाइ छ ।
कार्यालयको सामग्री कोठा बाहिर निकालेर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

वडा कार्यालयको सामग्री कसले र किन जलाएको हो भन्ने खुलिनसकेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । आगजनीको खबर पाएलगत्तै राति नै प्रहरी वडा कार्यालय पुगेर मुचुल्का उठाइसकेको जनाएको छ ।