गरिब मुलुकका एक तिहाई मानिसमा स्वास्थ्य समस्या

0
Shares

लन्डन, (एजेन्सी)।

दि लान्सेटमा हालै प्रकासित स्वास्थ्यसम्बन्धी एक प्रतिवेदनमा विश्वका गरिब मुलुकका एक तिहाई मानिस उच्चस्तरको मोटोपनाको शिकार भएको र सोही अनुपातमा स्वास्थ्य तथा पौष्टिक आहारको कमीका कारण दुब्लापातला मानिस पनि रहेको उल्लेख गरिएको छ।

यस अनुसन्धानले विश्वभरि अत्याधुनिक प्रशोधित खाना सेवन र कम व्यायामका कारण यो समस्या बढ्दै गएको जनाइएको छ। अनुसन्धानकर्ताले मानिसलाई आधुनिक आहार विधिलाई परिवर्तन गर्न आह्वान गरेका छन्।उप–सहारा अफ्रिका र एसियाका मुलुकहरुमा यो समस्या निकै विकराल रहेको बताइएको छ।

यस प्रतिवेदनमा विश्वका झण्डै २ अर्ब ३० करोड बालबालिका तथा वयस्क अधिक वजनको शिकार भएको तथा १५ करोडभन्दा बढी बालबालिकाको कुपोषणका कारण राम्ररी शारीरिक र मानसिक विकास नभएको बताइएको छ।

अधिकांश न्यून तथा मध्यम आयआर्जन हुने मुलुकमा मानिसहरुले यी दुवै प्रकारका समस्या धेरै भोगिरहेका छन्। यस अर्थमा २० प्रतिशत मानिस अधिक वजन, ३० प्रतिशत चार वर्षमुनिका बालबालिकाको उचित शारीरिक वृद्धिको कमी र २० प्रतिशत महिला दुब्लोपनाको शिकार भएका छन्।

यो प्रतिवेदनका अनुसार नब्बेको दशकमा १ सय २३ मध्ये ४५ वटा र २०१० तिर १ सय २६ मध्ये ४८ वटा मुलुक यस समस्याबाट प्रभावित रहेका थिए। यस समस्याको समाधानका लागि सम्बन्धित सरकार, संयुक्त राष्ट्रसंघ र प्राज्ञिकहरुले ध्यान दिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।