इमरान खानलाई ‘भिखारी’ भन्ने नेता पक्राउ

0
Shares

इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानको भ्रष्टाचारविरुद्धको एक सरकारी निकायले सोमबार प्रधानमन्त्री इमरान खानका कट्टर आलोचकका रूपमा चिनिने एकजना प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ।

एहसान इकवाललाई सार्वजनिक रूपमा प्रधानमन्त्री खानलाई देशकै सबैभन्दा ‘ठूलो भिखारी’ को संज्ञा दिएको केही घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

उनले खानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ ) र अन्य मुलुकहरुबाट अर्बौं अमेरिकी डलर ल्याएर पनि देशको नाजुक अर्थतन्त्रमा कुनै पनि सुधार ल्याउन नसकेको आरोप लगाएका थिए।एहसान पूर्वप्रधानमन्त्री नवाज सरिफको सरकारमा गृहमन्त्री रहेका थिए।

सरिफले सन् २०१७ मा आफूविरुद्ध लगाइएका भ्रष्टाचारका अभियोगका कारण सत्ता गुमाउनुपरेको थियो। त्यसको एक वर्षपछि उनलाई कारावास सँजाय नै तोकिएको थियो।

एहसानलाई राष्ट्रिय जिम्मेवारी ब्युरोले धेरै वर्षअघि उनको मतदान क्षेत्र पूर्वी पञ्जाव प्रान्तमा निर्माण भएको खेलकुद रंगशालामा भएको भ्रष्टाचारका विषयमा छानविन गरिरहेको छ। उनका महिला प्रवक्ता मरयाम औरंगजेवले भने राजनीतिक पूर्वाग्रह राखेर उनलाई गिरफ्तार गरिएको दाबी गरेकी छन्।

उनले इमरान खानले आफ्नो आलोचना गर्न बन्द गर्न गरिएको अनुरोध नमानेकै कारण उनलाई पक्राउ गरिएको पनि बताएकी छन्। मारियमले आफ्नो पार्टीले खानलाई पदबाट राजीनामा दिन लागाउन निरन्तर दबाब दिइनैरहने पनि बताएकी छन्।

इमरान खानले सत्ता सम्हालेयता यसअघि नै विपक्षी पार्टीका थुप्रै प्रभावशाली नेतालाई विभिन्न भ्रष्टाचारको अभियोगमा गिरफ्तार गरिसकिएको छ।

गत वर्ष सम्पन्न चुनावको दौरानमा इमरानले सरकारी स्तरबाट भ्रष्टाचारलाई पूर्ण रूपमा उन्मूलन गरिने मुद्दालाई ठूलो प्राथमिकता दिएका थिए। भ्रष्टाचार र मुद्रा अपचलनको अभियोग लगाइएका सरिफ भने अहिले बेलायतको राजधानी लन्डनमा स्वास्थ्य उपचार गराइरहेका छन्।