उर्वर पिन्थली संकटमा कपास उद्योग

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे।

दुई दशक अघिसम्म रोशी गाउँपालिकाको मंगलटार पिन्थलीमा कपास प्रशोधन गर्ने कारखाना चल्थ्यो। कपासका रुखहरू हरेक घरमा हुन्थ्यो। प्रविधिको विकास, सडकको सहज पहुँच, युवाहरू विदेश पलायन जस्ता कारणले जन्मदेखि मृत्युसम्म आवश्यक कपास संस्कृति लोप भएको छ।

७० वर्षीय अश्विनी लामासँग ६० वर्ष अघि बुनेका कपासका कपडाहरू छन्। अश्विनीको सासु दमैस्या लामाले २० वर्ष अघि बुनेका कपासका पटुका, सिरक, डस्नालगायत विभिन्न व्यक्तिले लगाउने सबै थरी कपडाहरू सुरक्षितमात्रै छैनन् हरेक समय उहाँ कपासबाटै बुनेका कपडाहरूको प्रयोग गर्नु हुन्छ।

अश्विनीको घरमा रहेको कपास प्रशोधन गरी कपडा बुन्ने कारखाना अझै छ। कपासको रुखसमेत घर अगाडी जोगाईएको छ। बत्ती काट्नसमेत सोही रुखको कपास प्रयोग गरिन्छ। खर्चका हिसाबले महँगोपर्ने तर घर आँगनमै उत्पादन हुने कपास लोप हुँदै गएको उहाँले बताउनुभयो।

‘बुढी भएपछि आँखा देख्दिँन, सासु, ससुरा र श्रीमानसमेत बित्नु भयो,’ अश्विनीले भन्नुभयो– ‘छोराछोरीले यो व्यवसायलाई अगाडी बढाउन रुचाएनन्।’ ८० वर्षको उमेरमा ससुरा काइँला लामा बित्नु भयो भने ६५ वर्षको उमेरमा श्रीमान हर्कबहादुर बित्नु भयो।

दमका कारण बाबु छोराको निधन १७ दिनको फरकमा भयो। सासु, ससुरा र श्रीमानले शुरु गरेको व्यवसायलाई अश्विनीले निरन्तरता दिन सक्नु भएन। तर उहाँले बाँध्नु भएको पटुका, अन्य कपडाहरू त्यसै बेला बुनिएका थिए।

कपास उद्योग संस्कृति थियो। तामाङ समुदायका व्यक्तिहरूको निधन हुँदा अन्त्येस्टिका लागि सोही कपासको लामो कपडा प्रयोग गरिन्थ्यो। त्यसका लागि पनि सबैका घरमा त्यो खालको कपडा बुन्ने गरिएको थियो। व्यक्तिले प्रयोग गर्ने कपडाको अलावा अन्त्येष्टिका बेला आवश्यक पर्ने कपडाहरूका लागि कपास संस्कृतिसँग जोडिने गरिएको थियो।

व्यक्ति जन्मदा प्रयोग गर्ने कपासको बत्तिदेखि मृत्युसम्म प्रयोग गर्ने कपास संस्कृति पिन्थलीमा लोप भएको छ। अहिले कसैले पनि त्यस्तो व्यवसाय गर्दैनन्। हरेकका घरमा बजारबाट पुग्ने कपडाहरूको प्रयोग हुन्छ भने कपास खेती पनि नष्ट भएको छ।

बिक्री वितरण नै नभए पछि त्यसको खेती गर्न छाडिएको अश्विनीले बताउनुभयो। पिन्थली माइती भएकी सेतीमाया लामाले पनि २० वर्षदेखि आफुले उक्त पेसा छाडेको बताउनुभयो। त्यतिबेला एउटा पटुकाको २५ रुपियाँमा बिक्री गरिन्थ्यो।

हिरामायाले एक वर्षमा पटुका मात्रै ६० वटा बुन्नु भएको थियो। २५ वर्षअघि बुनेर लगाएको पटुका अहिले पनि जस्ताको तस्तै रहेको उहाँले बताउनुभयो। एउटा पटुका बुन्न ३ दिन बिताउनु पर्दथ्यो। तत्कालीन राजा वीरेन्द्रले समेत पिन्थलीमा बुनेको कपासको कोट लगाउनु भएको हिरामायाले बताउनुभयो।

‘पिन्थलीबाट श्रीमान वीरेन्द्र राजाका लागि कपासको कोट, सानो पटुका र अन्य कपडाहरू उपहार पठाइएको थियो,’ हिरामायाले भन्नुभयो–‘एउटा कार्यक्रममा उहाँले पिन्थलीमा बुनेको कपासको कोट भनेर देखाउनु भएको कुरा हामीलाई सुनाइएको थियो।’

उर्वरभूमि, जाँगरिला पिन्थलीवासी

२०१६ सालबाट सिंचाई शुरु भएको पिन्थलीको जमिन उर्वर छ। उर्वरभूमिमा आँट(सलिफा)देखि आँपसम्मका फलफूल उत्पादन हुन्छन् भने तरकारी, तरकारीको बिउ उत्पादनदेखि हरेक किमिसका अन्न उब्जनी हुने गरेका छन्।

‘सडक नहुँदा घोडामा ३० मुरी धान बिक्री गर्न लैजाने गरिएको थियो, स्थानीय हिरामाया लामाले भन्नुभयो– ‘अहिले पनि यहाँको उत्पादन घटेको छैन।’

उत्पादन बृद्धीका गर्न रोशी गाउँपालिकाले कृषकहरूका लागि प्लास्टिक टनेल, तरकारीका बिउ, कृषि प्राविधिक सहयोग र औजारहरू उपलब्ध गराएको अध्यक्ष डीबी लामाले बताउनुभयो।

एउटै पाटोमा साग, लसुन, मुला, धनियाँ, बोधिचित्त, सिमी, प्याज, छ्यापी, आलुलगायतका तरकारी उत्पादन हुने गरेको छ। २४ सैं घण्टा १२ महिना नै उतिक्कै मात्रामा पानी उपलब्ध हुने भए पछि कृषकहरूले उत्पादनमा जोड दिएका हुन्।

तरकारी उत्पादनसँगै आयस्तर बृद्धी भएकाले पिन्थलीवासीहरू अधिकांशको शहरी क्षेत्रमा जग्गा, घर छ भने परिवारका सदस्यहरू सम्पन्न अवस्थामा छन्। शिक्षासँगै चेतनाको विकास भएको छ।