‘विदेशमा काम गर्न जानेलाई मनोपरामर्श आवश्यक’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

मानसिक रूपमा स्वस्थ्य नभएसम्म शारीरिक रूपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोग र ‘कोसिस’ नामक गैरसरकारी संस्थाले राजधानीमा मंगलबार आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’ विषयको अन्तरक्रियामा सहभागीहरूले पारिवारिक वियोगसँगै गन्तव्य मुलुकमा आइपर्ने मानसिक तनाव व्यवस्थापनका लागि प्रस्थान पूर्व नै मानसिक स्वास्थ्य जाँच गरिनु आवश्यक भइसकेको बताएका थिए।

परिवारको समृद्धिका लागि विदेशिएको युवाले आप्रवासनका विभिन्न चरणमा मानसिक समस्या भोग्दै आएका छन्। वैदेशिक रोजगारीमा जाँदाको उच्च लागत, गन्तव्य मुलुकको भाषा तथा कानूनको ज्ञान नहुनु, कार्यस्थलमा अतिरिक्त बोझ, दुव्र्यवहार, परिवारसँगको विछोडलगायत कारणबाट आप्रवासी कामदार मानसिक समस्यामा फस्दै आएका छन्।

मानसिक समस्याबाट प्रताडित कतिपय युवाले आत्महत्यासमेत गर्दै आएका छन्। वैदेशिक रोजगारीमा आत्महत्या हुनुको प्रमुख कारण मानसिक समस्या रहेको पाइएको वक्ताहरूले दाबी गरेका छन्। मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाले परिवारसँगको विछोडका कारण एक्लोपन महसूस गरेर आत्महत्या गर्नेहरूको संख्या अधिक रहेको जानकारी दिनुभयो।

निजामती कर्मचारी अस्पतालका मनोचिकित्सक डा. दिनेशकुमार लम्सालले आत्महत्या गर्नुको मुख्य कारण मानसिक समस्यासँगै शारीरिक समस्या रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘वैदेशिक रोजगारीमा जाने कोही पनि व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गर्ने प्रचलन रहेको छैन, फर्केका व्यक्तिमा पनि उत्तिकै समस्या छ।’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझाले वैदेशिक रोजगारीमा गएका व्यक्ति मात्र नभई उनीहरूका परिवार पनि मानसिक रूपमा विक्षिप्त हुने गरेको दाबी गर्नुभयो।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले वैदेशिक रोजगारीमा जाने क्रममा चर्को सेवा शुल्क तिर्नुपर्ने कारणबाटै कामदार मानसिक समस्यामा पर्ने गरेको दाबी गर्नुभयो।

‘अपारदर्शी भर्ना प्रक्रियाबाट कामदारमा मानसिक तनाव उत्पन्न हुन्छ, त्यस्तै गन्तव्य मुलुकमा न्यायमा पहुँच हुँदैन, सानो मानसिक समस्याले आत्महत्याजस्तो विकाराल रुप लिँदै छ, यसमा सबै गम्भीर बन्नुपर्छ।’ –उहाँले भन्नुभयो।

अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले पछिल्लो समय अभिमुखीकरण पाठ्यक्रममा परिमार्जन गरी मानसिक समस्या, तिनको समाधानका उपायबारे कामदारलाई अभिमुखीकरण दिने गरिएको बताउनुभयो।

उहाँले पछिल्लो समय प्रस्थानपूर्व, प्रस्थान गर्दा, गन्तव्य मुलुकमा हुँदा र स्वदेश फर्कंदा आइपर्ने मानसिक समस्या समाधान गर्ने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे कामदारलाई मानसिक स्वास्थ्यका बारेमा जानकारी दिनुपर्ने बताउनुहुन्छ। कामदारको मनोपरामर्शमा सरकारसँग सहकार्य गर्न व्यवसायी तयार रहेको उहाँको भनाइ थियो।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक जान श्रेष्ठ मानसिक समस्यामा पर्ने नेपाली कामदारको सख्या अधिक रहेको पाइएको हुँदा अभिमुखीकरणको क्रममा तनाव व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुहुन्छ।

श्रव्यदृश्यको माध्यमबाट हामीले कामदारलाई तनाव व्यवस्थापनका बारेमा तालिम दिँदै आएका छौँ, उहाँले भन्नुभयो– ‘वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरेर सुरक्षित आप्रवासन परियोजनामार्फत ३९ जिल्लामा मनोसामाजिक परामर्श दिँदै आएका छौँ।’

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको र यो आयोगको चासोको विषयसमेत भएको बताउनुभयो।