अहिराजद्वारा पत्रकारिता पुरस्कार स्थापना

0
Shares

काठमाडौं, (नेस)।

मधेस मामिला जानकार डा. राजेश अहिराजले नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा मंगलबार ‘रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्नुभएको छ। नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा डा. अहिराजले ५१ हजारको अक्षयकोष स्थापना गर्नुहुँदै पुरस्कार स्थापना गर्नुभएको हो।

उहाँले नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डललाई आज रु ५१ हजार हस्तान्तरण गर्नुहुँदै सो रकम नेपाल पत्रकार महासंघ शाखाको बैंक खातामा १० वर्षका लागि अक्षयकोष स्थापना गरिदिनुभएको हो।

महासंघको बैंक शाखामा मुद्दति गरिएको सो अक्षयकोषबाट वार्षिक रूपमा आउने ब्याजको रकमबाट प्रत्येक वर्ष महोत्तरीबाट मधेसको हकहितका लागि समाचार लेख्ने तथा मधेस मामिलामा कलम चलाउने पत्रकारमध्येबाट एक जनालाई पुरस्कृत गरिनेछ।

डा. अहिराजले विसं २०४६ मा सद्भावना परिषद्को स्थापना हुँदा रामचन्द्र मिश्र परिषद्को संस्थापक रहनुभएको तथा मधेसका लागि धेरै योगदान दिनुभएको सम्झिनुहुँदै महोत्तरीमा उहाँकै नाउँमा पत्रकारिता पुरस्कार स्थापना गरिएको बताउनुभयो। उहाँले सो पुरस्कारका लागि अक्षयकोषलाई बढाउँदै जाने प्रतिबद्धता पनि प्रकट गर्नुभयो।