न्यायपालिकालाई जवाफदेही बनाउन कानुन व्यवसायीको जोड

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

कानुन व्यवसायीले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्। बार दिवसका अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै बार एसोसियसन र उच्च अदालत बार एसोसियसन पाटनले आज संयुक्त रूपमा भक्तपुरमा आयोजना गरेको कार्यक्रमका सहभागी कानुन व्यवसायीहरूले न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्दै गएको भन्दै न्यायपालिकामा कुनै प्रकारको हस्तक्षेप हुन नहुने बताएका हुन्।

कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउन नसक्दासम्म न्यायमा जनताको पहुँच अभिवृद्धि हुन नसक्ने बताउनुभयो। बार अध्यक्ष श्रेष्ठले बार र अदालत एक सिक्काका दुई पांग्राका रुपमा रहे पनि बार र बेन्चबीच अझै सुमधुर सम्बन्ध स्थापित हुन नसकेको बताउनुभयो।

उहाँले राजनीतिबाट न्यायपरिषद् प्रभावित हुन नहुने बताउँदै योग्यता नहुनेलाई न्यायाधीश नियुक्त गर्ने अवस्था झांगिदै गएको बताउनुभयो। न्यायलाई भ्रष्ट बनाउन वकिलको पनि दोष रहेको बताउँदै अध्यक्ष श्रेष्ठले खराब वकिललाई कारबाही गर्ने कि नगर्ने भनी प्रश्न गर्नुभयो।

कार्यक्रममा राष्ट्रियसभाका सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले अख्तियार गएका आयुक्त घूस खाने र न्यायपरिषद्मा गएका व्यक्ति जसरी पनि न्यायाधीश हुने प्रवृत्ति मौलाएको बताउनुभयो।

पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता रमेश लेखकले लोकतन्त्रको अधारस्तम्भ न्यायलय कानुनसम्मत ढंगले अगि बढ्न नसकेको बताउनुभयो।
वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्याय परिषद्ले गलत गर्दा बारले खबरदारी गर्नुपर्नेमा जोड दिँदै न्यायमूर्ति न्याय मुर्कुटा बन्न नहुने बताउनुभयो।

बारका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले न्यायाधीशले गरेको फैसलाको प्राज्ञिक विश्लेषण गरी न्यायको मूल्यांकन गर्नुपर्ने बताउनुभयो।
वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले न्यायालय सिद्धान्त र पद्धतिमा चल्नुपर्नेमा जोड दिँदै अदालत स्वतन्त्र बन्नुपर्ने बताउनुभयो।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले सरकारले अदालतको आदेश नमानेको भन्दै न्यायाधीश हुन पार्टीको झोले कार्यकर्ता बन्ने र पार्टीका नेता र कार्यालयमा लाम लाग्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल कानुन आयोगका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले डीएलए र पीएलएको नाममा बारको अस्तित्वलाई कमजोर बनाउन नहुनेमा जोड दिनुभयो।

कार्यक्रममा बारका उपाध्यक्ष रक्षा भुसाल, महासचिव लीलामणि पौड्याल, निवर्तमान महासचिव खम्बबहादुर खाती, पूर्वमहासचिव विजय मिश्र ,भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारी, वरिष्ठ अधिवक्ता रुद्र पोखरेल, नेपाल बारका काठमाडौंका अध्यक्ष जगदीश घिमिरे, ललितपुर बार अध्यक्ष दीपककुमार विष्ट, भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानलगायतले बेन्च र बारबीच विश्वासको वातावरण बनाउँदै निष्पक्ष न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।