राप्रपासँग एकता गर्न सकिन्छ : राप्रपा संयुक्त

0
Shares

काठमाडौं, (नेस)।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताहरुले पार्टी सामुन्ने देखिएको चुनौतीलाई चिर्न स्पष्ट नीति र कार्यक्रम लिएर तल्लो तहसम्म जानुपर्ने बताएका छन् ।

राप्रपा (संयुक्त) कठीन परीक्षाको घडीमा रहेको स्वीकार गर्दै मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले सच्चिएर जाने हो भने अहिले पनि नेपाली जनताले राष्ट्रवादी शक्तिलाई स्वागत गर्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो बटमलाइन भनेको संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हो । यसैलाई स्पष्ट रूपमा जनतामाँझ लिएर जानुपर्दछ । ‘बेथितिलाई चिर्न सके लुटतन्त्रबाट आक्रान्त जनताले राष्ट्रवादी शक्तिलाई साथ दिनेछन्’ –राप्रपा (संयुक्त) का उच्च कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठले भन्नुभयो ।

उच्च कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीले भने, –धर्महरुको धर्म हिन्दू धर्मको मान्यता बोकेर हिँड्ने पार्टी जनताको भरोसाबाट चुकेको छ । त्यसकारण विश्वसनीयता कायम गर्नु नै अहिलेको मूल चुनौती हो।’

राप्रपा (संयुक्त) सम्वद्ध पाँचथर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा पाँचथर जिल्ला समिति सदस्य स्वर्गीय जीतबहादुर अगुवाको सम्मानमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘हामी कहाँ चुक्यौं, विश्लेषण गरेर सच्चिन जरुरी छ । सच्चिन सकिएन भने हाम्रो अगाडिको बाटो कठीन छ,’ उच्च कार्यसम्पादन समिति सदस्य श्याम तिमिल्सिनाले भने– ‘हामी सच्चिन सके मात्र जीतबहादुर अगुवाजस्ता होनहार कार्यकर्ताको चाहनाबमोजिम राष्ट्रिय राजनीतिमा पार्टी स्थापित हुनेछ।’ पार्टीभित्र पूर्नताजगी र नयाँ उर्जा सिर्जना गर्दै नयाँ पुस्तालाई साथ लिएर जानुपर्नेमा प्रवक्ता सगुन सुन्दर लावतीले जोड दिनुभयो ।

‘नयाँ नेपालमा शान्ति, समृद्धि, सामाजिक न्याय, समावेशिता नभएर संस्थागत भ्रष्टाचार, लुट र करको भारले जनतालाई थिचेको छ । देश उलटपुलट छ, कतिखेर विस्फोट हुन्छ भन्न सकिन्न । त्यसैले जनताले चाहेको विकल्प दिन हामी स्पष्ट भएर अघि बढ्नुको विकल्प छैन,’ –उहाँले भन्नुभयो ।

आद्य सभ्यताको आद्यभूमिभित्र किराँत सभ्यताले सिञ्चित पवित्र भूमि पाँचथरमा जन्मिएका अगुवा जीवनभर विचारका लागि संघर्षरत रहे । स्वर्गीय नेता पद्मसुन्दर लावतीको सहयात्री अगुवा भुइँ तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने कुशल राजनीतिकर्मी थिए ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उच्च कार्यसम्पादन समिति सदस्य तारानाथ लुइँटेल, केन्द्रीय सदस्य श्याम घिमिरे, अप्रा उपरथी होमकुमार लावती तथा पापोहाङ लावती सयङ उपत्यका समिति अध्यक्ष टेक लावतीलगायतले धारणा प्रस्तुत गरेका थिए ।