विदेशीमाथि फितलो निगरानी


उत्तरी छिमेकी मुलुक चीनबाट पर्यटकीय भिसामा नेपाल आएर अपराध गर्नेको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा छ। चिनियाँहरूलाई नेपालीले बढी नै सद्भाव देखाउने गरेको पाइन्छ तर आपराधिक मनोवृत्ति भएका चिनियाँ नागरिकले भने नेपाललाई अपराधको कर्मथलो बनाउन थालेका छन्।

नेपाल सरकारले चिनियाँ नागरिकलाई विनारोकतोक पर्यटकीय भिसा उपलब्ध गराउने गरेको कारण पनि अपराधमा संलग्न चिनियाँहरूले यहाँ सजिलै प्रवेश पाएका छन्।

अपराधीहरूका लागि सुरक्षित आश्रय थलोका रुपमा नेपाल देखिन थालेकाले चिनियाँ सरकारले नै नेपाल सरकारलाई आपराधिक मनोवृत्ति भएका चिनियाँ नागरिकलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेपछि सरकारले उनीहरूविरुद्धको कारबाही प्रक्रियालाई अगाडि बढाएको छ।

आफ्ना नागरिकले विदेशी भूमिमा प्रविधिको दुरुपयोग गरेर आफ्नै देशमा वित्तीय संस्थाबाट अवैध चिनियाँ मुद्रा अपचलन गर्न थालेपछि चीन सरकार कडारुपमा प्रस्तुत हुन थालेको समाचार सार्वजनिक भएको छ।

नेपालस्थित चिनियाँ दूतावासले नै आपराधिक क्रियाकलाप गर्ने चिनियाँविरुद्ध अभियान सञ्चालन गर्न आग्रह गरेपछि १ सय ३० भन्दा बढी चिनियाँ नागरिक पक्राउ परेका छन्।

पर्यटकीय भिसामा नेपाल प्रवेश गर्ने विदेशीको बारेमा नेपाल सरकारले कुनै रेकर्ड राख्न नसक्दा आपराधिक मनोवृत्ति भएका विदेशीहरूका लागि नेपाली भूमि स्वर्गजस्तै भएको छ।

भियतनाम, कम्बोडियालगायतका मुलुकमा बसेर आपराधिक गतिविधिमा संलग्न चिनियाँहरू त्यहाँको सरकारले कडाइ गरेपछि नेपाल प्रवेश गरेको सूचना सार्वजनिक भएको छ।

आपराधिक क्रियाकलापमा संलग्न रहेका झन्डै ३ हजार चिनियाँ नागरिक नेपाल प्रवेश गरेको र उनीहरूको बारेमा नेपाल सरकार बेखबरजस्तै देखिएको छ। यस्ता आपराधिक क्रियालकपामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल सरकारले कठोर कदम चाल्नुको विकल्प देखिँदैन।

झन्डै ३० हजारको हाराहारीमा यस्ता चिनियाँ नागरिकहरू अहिले विश्वभर छरिएर रहेको र उनीहरू तिनै देश र चीनमा समेत आर्थिक अपराधमा संलग्न रहेको निष्कर्ष चीन सरकारले निकालेको समाचार छ।

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने सरकारको अपेक्षाअनुरुप जोसुकै विदेशीले पनि नेपाल भ्रमण गर्न कोशिश गर्ने भएकाले भिसा प्रणालीमा समेत ध्यान दिनुपर्ने देखिन्छ। पर्यटकीय भिसामा नेपाल प्रवेश गरेर गैरकानुनी धन्दामा संलग्न हुने विदेशीहरूलाई फेरि नेपाल प्रवेश नै गर्न नसक्ने गरी निष्कासन गर्ने कानुन निर्माण गर्नुपर्ने देखिन्छ।

पछिल्लोपटक नेपाल प्रवेश गर्ने चिनियाँको संख्या अत्यधिक बढेको देखिन्छ। किन चिनियाँहरूको केन्द्रविन्दु नेपाल हुन थाल्यो ? यस विषयमा नेपाल सरकारले गम्भीर भएर समीक्षा गर्नुपर्ने बेला भएको छ।

अवैध गतिविधिमा संलग्न चिनियाँका बारेमा चीन सरकारले नेपाल सरकारलाई जानकारी नदिएको भए उनीहरूले नेपालको अर्थतन्त्रमा गम्भीर धक्का पुर्याउन सक्ने थिए।

त्यसकारण नेपाल प्रवेश गर्ने विदेशीको बारेमा मनिटरिङ गर्ने परिपाटीको विकास गर्नुपर्ने अवस्था टड्कारोरुपमा देखिएको छ। यसतर्फ नेपाल सरकारको ध्यान जान जरुरी छ।