धरहरा निर्माण तीव्र गतिमा

९० प्रतिशत नेपाली निर्माण सामग्रीले बन्दै धरहरा

0
Shares

भूपराज बस्याल, काठमाडौं ।

ऐतिहासिक धरहरा पुनर्निर्माणमा नेपाली उत्पादनका ९० प्रतिशत निर्माण सामग्री प्रयोग भएको छ। संयुक्तरूपमा निर्माणको जिम्मा पाएका चाइनिज कम्पनी जीआई ईटीसी र नेपाली कम्पनी रमन जेबीले हालसम्म ३१ प्रतिशत काम सकिएको जनाएका छन्।

६ अक्टोबर २०२० मा काम सक्ने गरी ७ सेप्टेम्बर २०१८ मा कम्पनीसँग सम्झौता भएपछि भूकम्प गएको तीन वर्षपछि निर्माणको कामले गति लिएको हो। ३ अर्ब करोड ८ करोडकोे लगानीमा बन्न लागेको धरहराको ७० करोड ३६ लाख खर्च भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजु मानन्धरले जानकारी दिनुभयो।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको सो ऐतिहासिक धरहरा आधुनिक प्राविधिको संरचनामा पुनर्निर्माणका लागि गत २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो। सो अवसरमा उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताउनुभएको थियो।

जम्मा क्षेत्रफल ४२ दशमलव ५ रोपनी जग्गा ओगटेको धरहरा पार्किङसहित २२ तलाको नेपालकै उत्कृष्ट आधुनिक संरचनामा बन्न लागेको हो। आधुनिक निर्माण सामग्री प्रयोग गरेर बनाइएको धरहराको काम द्रुत गतिमा भएको पनि मानन्धरले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ।

तोकिएको समयमै सक्ने गरी काम भइरहेको बताउँदै पन्ध्र दिनमा एक तला सक्ने गरी तीव्र गतिमा काम भएको पनि उहाँले जानकारी दिनुभयो।केही विदेशी प्राविधिक र अन्य सबै नेपाली गरी दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म कामदारले काम गरिरहेको धरहराको तेस्रो तला ढलानको काम सकिएको छ।

दुई लिफ््टसहित एउटा फलामे भर्याङ रहने धरहरा पहिलेको भन्दा चौडाइ ठूलो हुनेछ। लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ भने प्रत्येक तलामा एक सानो झ्याल हुने र धरहराको माथि पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्न सक्नेछन्।

धरहरामुनि दुई तलाको सपिङ सेन्टर बनाइँदै छ भने बाहिर बाँकी रहेको भागमा जमिनमुनि नै पार्किङ बनाइँदै छ। धरहरा चलाउन आर्थिक जोहोका लागि नयाँ अवधारणाका साथ सपिङ सेन्टरसहितको अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर निर्माण गर्न लागिएको भए पनि ती सपिङ सेन्टरमा नेपालमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिइने मानन्धरले जानकारी दिनुभयो।

धरहराको सपिङ सेन्टर हेरेपछि नेपालमा उत्पादन हुने कलात्मक वस्तुहरूको जानकारीका लागि पनि सपिङ सेन्टरको अवधारणा ल्याइएको उहाँले जानकारी दिनुभयो। हरियाली बगैंचा मनमोहक दृश्यसहित बन्न लागेको धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने तथा भित्र पसलमा राखिएका सामानहरूले नेपालको पहिचान झल्काउनेछ।

जम्मा २७ मिटर जमिनभित्र गाडिएको हुनेछ भने जमिनमुनि हुने दुई तलाको सपिङ सेन्टरसहित धरहराको उचाइ ८७ मिटर हुनेछ। १८ तलामा अवलोकन हल राखिएको हुनेछ।

हलमा भूकम्पले नेपालमा पारेको असरलगायत नेपालको बारेमा जानकारीमूलक भिडियोहरू राखिने छ भने बाहिरी अवलोकन २० तलाबाट गर्न सकिन्छ। माथिका दुई तला धरहराको चुचुरोमा प्रयोग हुनेछ।

सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो भने २०७२ सालको भूकम्पबाट पूरै क्षतिग्रस्त भएको थियो।