संघीयताले देश संकटमा : समाजवादी कांग्रेस

0
Shares

काठमाडौं, (नेस)।

नेपाल समाजवादी कांग्रेसले प्रधानमन्त्री, मन्त्री, राष्ट्रसेवक कर्मचारीका साथै अन्य सरोकारवालाले राष्ट्रिय पोसाक नलाए ती लुगा खोलेर पेटीकोट लगाइदिने चेतावनी दिएको छ।

पार्टीले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गोविन्द निरौलाले पुरुषका लागि दौरा, सुरुवाल, कोट र टोपी तथा महिलाका लागि गुन्यू चोली राष्ट्रिय पोसाक भएकाले राष्ट्रको मर्यादा राख्न अनिवार्यरूपमा ती पोसाक लगाउनुपर्ने बताउनुभयो।

‘हामी १० दिन पर्खन्छौं अनि पनि यो कुरा सुनुवाइ भएन भने पुरुषलाई पेटीकोट लगाइदिन्छौं’, निरौलाले भन्नुभयो– ‘हाम्रो रीतिरिवाज र संस्कृतिमाथि सधैं प्रहार भइरहेको छ त्यसैले पनि सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका हौं।’

नेपाल समाजवादी कांग्रेसले पत्रकार सम्मेलन गरी आफ्नो उद्देश्य र अवधारणपत्र सार्वजनिक गरेको छ। पार्टीले प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, वकिल, संसद्, सरकारी विद्यालयका शिक्षक, संस्थानका कर्मचारीलगायतले राष्ट्रिय पोसाक लगाउनुपर्ने भनेको छ।

पार्टीले वर्तमान सरकारले जनताको हकअधिकारमाथि प्रहार गरेकाले जतिसक्दो चाँडो सरकारको बहिर्गमन हुनुपर्ने तर्क गरेको छ। ‘सरकार भ्रष्ट छ, अनियमितता बढिरहेको छ, सरकार निरंकुश ढंगले अघि बढेको छ, यो बाटो गलत छ’, निरौलाले भन्नुभयो– ‘अहिलेको लक्षण हेर्दा आगामी दिन झन् डरलाग्दो छ, त्यसैले पनि देश जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’

पार्टीका उपाध्यक्ष महेशमान सिंह डंगोलले राष्ट्रियता खतरामा परेको बताउनुभयो। ‘राष्ट्र बचाउन सबै एकजुट हुनुपरेको छ, यसको नेतृत्व हाम्रो पार्टीले गर्छ’, उहाँले भन्नुभयो– ‘सीमा अतिक्रमण हुँदा पनि सरकार बोलेको छैन, योभन्दा लाजमर्दो विषय अरू हुन सक्दैन, सरकारले तत्काल वार्ता गरेर आफ्नो भूमि फिर्ता लिनुपर्छ।’

पार्टीले संघीयताले देश संकटमा पुर्याएको निष्कर्षसमेत निकालेको छ। पार्टीले सीमा समस्या समाधानका लागि गृह सचिवलाई सम्बोधन गर्दै केही दिनअघि स्मरणपत्र पनि बुझाएको सचिव मानबहादुर गुरुङले बताउनुभयो।

‘सरकार सबै कुरामा असफल भइसकेको छ, २ वर्षसम्म सरकारले गरेका राम्रा काम केही पनि देखिएनन्’, गुरुङले भन्नुभयो– ‘अरू पार्टीहरु कुनै न कुनै देशको इसारामा चलेका छन्, उनीहरू अरूको हितका लागि काम गर्छन्, हामी नेपाल र नेपाली जनताको पक्षमा सधैं अभियान चलाउँछौं।’