पेशी ७ गते, फैसला भयो ६ गते

0
Shares

बाँके, (नेस)।

अदालतबाट जारी गरिएको तारिख पर्चामा पुस ७ गतेलाई पेशी तोकिएको थियो। त्यही पर्चाको आधारमा कोहलपुरका पुष्पाञ्जली थापाका परिवार अदालतमा पुगे।

उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासमा पुगेपछि पुष्पाञ्जली, आमा शान्ति र भाइबहिनी छाँगाबाट खसेजस्तो भए। जब अदालतका कर्मचारीले मुद्दाको फैसला एक दिन अगाडि नै भएको जानकारी दिए।

उच्च अदालतको आधिकारिक पर्चामा पुस ७ गतेलाई तोकिएको पेशीको फैसला कसरी ६ गते नै भयो ? गम्भीर प्रश्न उब्जिएको छ। यसलाई अदालतको कर्मचारीको ठूलो लापरबाही मानिएको छ। बारका अध्यक्ष विकास आचार्यले कर्मचारीले ढड्डामा ६ र पर्चामा ७ गते लेखेको हुनसक्ने बताउनुभयो।

‘यो त गम्भीर लापर्बाही हो। मैले सुनेअनुसार ती कर्मचारीहरू अनुसन्धानको दायरामा आएका छन्’, बारका अध्यक्ष आचार्यले भन्नुभयो– ‘कर्मचारीलाई कारबाही गरे पनि पीडितको पीडा त कम हुँदैन नि ?’

कोहलपुरकी पुष्पाञ्जलीको यो चौथो पेशी थियो। पुष्पाञ्जलीले भन्नुभयो– ‘ मिलोमतोमा यो सब काम भएको छ। अदालतमै यस्तो भएपछि हामीले न्याय खोज्न कहाँ जाने ?’ मुद्दाको विषय सानो छैन। एक फैसलाले एक परिवारको उठीबास लाग्दै छ। शान्तिको सिन्दुरसँग घटना जोडिएको छ।

बर्दियाका कमल शाहीले शान्तिका श्रीमान् पूर्णबहादुर थापासँग मिलेर काम गर्ने भन्दै उनको चप्परगौडीमा १ कठ्ठा ६ धुरमा रहेको घर लक्ष्मी बैंकमा ९० लाख रुपियाँमा दृष्टिबन्धक राख्न फकाए। पूर्णबहादुरबाट आफ्नो नाममा घरजग्गा लिएर शाहीले बैंकबाट ९० लाख रुपियाँ निकाले। यो २०७३ भदौको कुरा हो।

९० लाख रुपियाँ निकालेर घरजग्गा कमलबाट बैंकमा दृष्टिबन्धक राख्दा शान्तिको हस्ताक्षर छैन। जब श्रीमान् पूर्णबहादुरले घरजग्गा कमललाई पास गरेर बैंकबाट ९० लाख रुपियाँ निकालेको थाहा पाउनुभयो। श्रीमान्लाई पैसा खोई भन्न थाल्नुभयो।

२०७३ भदौ ६ गते रक्षा बन्धनको दिन घरबाट कमलसँग लालपुर्जा लिन जान्छु भनेर निस्किएका शान्तिका श्रीमान् पूर्णबहादुर अहिलेसम्म सम्पर्कमा छैनन्। श्रीमान् पूर्णबहादुरलाई कमल शाहीले बेपत्ता पारेको शान्तिको आरोप रहेको छ।

यो ९० लाख रुपियाँ निकाल्नुअघि शान्तिले नै कमला खत्रीलाई यहीँ घरजग्गा २९ लाख रुपियाँमा दृष्टिबन्धक राख्नुभएको थियो। यो २०७१ मंसिर २८ गतेको कुरा थियो। २०७३ मा कमल शाहीमार्फत ९० लाख रुपियाँमा दृष्टिबन्धक राखेपछि पहिलाको कमला खत्रीको दृष्टिबन्धकको पैसा तिरिएको थियो।

पछिल्लो दृष्टिबन्धकका बारेमा कुनै जानकारी नपाएकी शान्तिले २०७३ फागुन १० गते अदालतमा श्रीमान् पूर्णबहादुर, कमल शाही र कमला खत्रीविरुद्ध जालसाछी मुद्दा दायर गर्नुभयो।

यो मुद्दा शान्तिले हार्नुभयो। शान्तिको मुद्दा हेरेका कानुन व्यवसायीले धोका दिएको थापा परिवारको भनाइ छ। फेरि अर्को कानुन व्यवसायी राखेर उच्च अदालतमा मुद्दा दायर गरियो। यसपालि कानुन व्यवसायीले छोरी पुष्पाञ्जलीलाई अगाडि सार्न लगाए।

कानुन व्यवसायीले भनेअनुसार पुष्पाञ्जलीले आमा, बुबा, कमल शाही र कमला खत्रीविरुद्ध मुद्दा दायर भयो। यही मुद्दाको पेशी पटक–पटक तोकियो। अन्तिम पेशीमा अदालतकै कर्मचारीले ठूलो ‘खेल’ खेले। जुन खेलले अदालतको गरिमा घटाउने काम गरेको छ।

‘हामीलाई न्यायालयले समेत ठग्यो, अब हामी कहाँ जाने’, शान्तिले भन्नुभयो– ‘लालपुर्जा लिन जान्छु भनेर घरबाट हिँडेका श्रीमान् अहिलेसम्म सम्पर्कमा छैनन्। कमलले मेरो श्रीमान् अगाडि ल्याइदेओस् म हाँसीहाँसी घरजग्गा उसलाई दिएर हिँडिदिन्छु।’