प्रधानमन्त्री ओलीद्वारा पुरीको प्रशंसा

0
Shares

काठमाडौं, (नेस)।

नेपाल–भारतबीचको पछिल्लो सीमा विवाद समाधानका लागि भारतले पठाएको जवाफलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मकरूपमा लिनुभएको छ।

वार्तामार्फत छिटै सीमा विवाद हल हुने उहाँको भनाइ छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहनुभएका नेपालका लागि भारतीय राजदूत मञ्जिम सिंह पुरीसँगको विदाइ भेटवार्तामा ओलीले यस्तो बताउनुभएको हो।

सीमा समस्या समाधानका लागि भारतले औपचारिक जवाफ पठाउनु राजदूत पुरीको भूमिका रहेको भन्दै उहाँले पुरीको प्रशंसा गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ।

कालापानी, सुस्ता, लिम्पियाधुरालगायतका नेपाली भू–भाग आफ्नो नक्सामा समेटेपछि वार्तामार्फत समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदै नेपालले पठाएको ‘कूटनीतिक नोट’को करिब एक महिनापछि भारतले जवाफ पठाएको हो।

वार्तामार्फत समस्या समाधान गर्न आफ्नो मुलुक तयार रहेको आसयसहितको पत्र केही दिनअघि भारतीय दूतावासमार्फत सरकारलाई पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सीमा विवाद समाधानका लागि द्विपक्षीय संवादको खाँचो औल्याउँदै सरकारले गत मंसिर पहिलो साता भारतलाई कुटनीतिक नोट पठाएको थियो।

राजदूत पुरी प्रधानमन्त्री ओलीलाई भेट्न मंगलबार बालुवाटार पुग्नुभएको थियो। सो भेटवार्ता मुख्यतया दुवै मुलुकबीचको पछिल्लो सम्बन्ध र पुरीको कार्यकालमा भएको नेपाल–भारत सम्बन्धमा आएको सुधारका बारेमा केन्द्रित रहेको बताइएको छ।

पुरी यही महिना स्वदेश फर्कंदै हुनुहुन्छ। भारतले गत कार्तिक १६ मा सार्वजनिक गरेको आफ्नो मुलुकको नक्सामा नेपाली भू–भागसमेत देखाएपछि सीमा विवाद बल्झिएको छ।

यसैबीच पुरीले मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापतिसहित सो दलका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नुभएको छ। उहाँहरूसँगको भेटवार्ता पनि दुवै मुलुकको पछिल्लो सम्बन्ध र सम्बन्ध सुधार्न पुरीले खेलेको भूमिकाप्रति केन्द्रित रहेको जनाइएको छ।

गुटगत राजनीतिले पार्टी केन्द्रीय कमिटिको बैठक प्रभावित भइरहेका बेला काँग्रेसका शीर्ष नेता भने पुरीसँगको विदाई भेटमा जुटेका थिए। राजदूत पुरीले यसअघि सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपाललगायत अन्य दलका शीर्ष नेतासँग पनि विदाइ भेट गरिसक्नुभएको छ।