सबैतिरबाट आस मारेको बिरामी नर्भिक पुर्याएपछि…

0
Shares

भगवती तिमल्सिना, काठमाडौं।

दुई–दुई वटा अस्पतालले उपचार नै लाग्दैन भनेर फर्काएको १० वर्षे बालकले चिकित्सा विज्ञान र चिकित्सकको दक्षताका कारण चामत्कारिकरूपमा पुनर्जीवन पाउँछ भनेर कसले पत्याउँछ ? तर, पत्याउनैपर्ने भयो।

अभिभावकको निराशालाई आशामा बदल्दै गत शुक्रबार काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा पुर्याइएको बालकले पुनर्जीवन पाए।

सप्तरी जिल्ला घर भई काठमाडौंमा बस्दै आएका विजयकुमार इसारका १० वर्षीय छोरा सिद्धार्थ केही दिनदेखि घाँटी दुख्ने समस्याले ग्रस्त थिए। चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक, सिटामल र कफसिरफ खाँदाखाँदै उनी थप शिथिल बन्दै गए र अन्ततः बेहोस भए।

विजयकुमारले बच्चालाई तत्काल पाटन अस्पताल पुर्याउनुभयो। अस्पतालले बच्चाको डाइबिटिजको लेबल ६ सय बिन्दुभन्दा माथि पुगेको, मापन नै गर्न नसकिने अवस्थामा रहेको बताउँदै यहाँ उपचार हुन्न अन्तै लैजानोस् भने। विजयकुमार आत्तिँदै बच्चा बोकेर बालमैत्री अस्पताल लाजिम्पाटतर्फ हान्निनुभयो।

बालमैत्री अस्पतालले पनि दिनभरि बच्चालाई परीक्षणमा राख्यो अन्त्यमा बच्चाको सुगर रगत र पिसाब हुँदै शरीरभरि फैलिसकेको छ, सास फेर्र्नै गाह्रो भइसक्यो। अब जहाँ लगे पनि भेन्टिलेटरमा राख्नुपर्छ, उपचार सम्भव छैन, तैपनि तपाईंको बच्चा कतै लाने भए लैजानोस् भनेर हात उठायो।

विजयकुमार र उनको परिवारको पैतालामुनिको जमिन भासियो। हेर्दाहेर्दै काखमै बालक छोराको अन्त्य हुने भयो भनेर उनीहरूमा रुवाबासी चल्यो। यसैबीच विजयकुमारले ३५ वर्षअघि यसरी नै आमालाई ग्यास्ट्रिक बिग्रिएर उपचार नै लाग्दैन भनेको अवस्थामा नर्भिकमा ल्याई डा. मधु घिमिरेको उपचारबाट निको भएको घटना सम्झिनुभयो।

उहाँले तत्काल नर्भिकमा फोन गर्नुभयो र सकारात्मक जवाफ पाएपछि बालमैत्री अस्पतालबाट बच्चालाई चिकित्सक टोलीसहित मध्यरातमा नर्भिक पुर्याउनुभयो। नर्भिकमा चिकित्सक टोली विजयकै प्रतीक्षामा थियो।

डा. विवेक तोदीको नेतृत्वमा रहेको टोलीमा डा. दिना श्रेष्ठ, डा. विप्लवलगायतका सदस्य हुनुहुन्थ्यो। बालविशेषज्ञ डा. तोदी मंगलबार नेपाल समाचारपत्रलाई बताउँदै हुनुहुन्थ्यो– ‘डाइबिटिक किटोएसिडोसिस भएको रहेछ। बच्चालाई त्यस्तो भयो होला भनेर पहिला कसैले पनि सोच्दैन। यस्तो समस्या एक हजार डाइबिटिक बिरामीमा चार/पाँच जनामा देखिन्छ।’

उहाँका अनुसार सामान्यतया, यस्ता बिरामीले जीवनभरि इन्सुलिन लिइरहनुपर्ने हुन्छ। सरकारले १५ वर्षमुनिका बच्चालाई निःशुल्क इन्सुलिन दिलाउँछ। सक्नेले खरिद गरेर गुणस्तरीय इन्सुलिन पनि लिइरहेका हुन्छन्।

‘बच्चा उपचारका लागि ल्याइपुर्याउँदा शून्य प्रतिशत आशामा थियो। त्यस्तो बिरामी फर्कन सक्ने सम्भावना अत्यन्तै कम हुन्छ। बच्चामा डाइबिटिजको मात्रा यो स्तरमा पुग्ला भनेर सोचिँदै सोचिन्न, बच्चाको मृगौला, कलेजोमा समस्या देखिइसकेको थियो।

जेहोस्, उपचारपछि अहिले सामान्य भएको छ’ डा. तोदीका अनुसार यही क्रममा सुधार हुँदै गयो भने बच्चालाई अब दुई दिनमा डिस्चार्ज गरिनेछ। अस्पतालका अनुसार बिरामी बच्चा यस्तो अवस्थामा नर्भिक आएर निको भएको पहिलो घटना हो ‘डाइबिटिज सामान्यतः एक सयभन्दा तल हुनुपर्ने हो तर बच्चाको ६ सयभन्दा बढीको विन्दुमा थियो।

उपचारकै कारण अहिले १ सय ५० देखि २ सय ५० सम्ममा झरिसकेको छ। यो विस्तारै कम हुँदै जान्छ अस्पतालले जानकारी गरायो। विजयकुमारले आँखाभरि आँसु पारेर भन्नुभयो– ‘बेहोस बच्चा नर्भिकलाई सुम्पिएपछि मैलै अन्तिम भरोसाका साथ उहाँको अनुहार हेरें, बाल विशेषज्ञ डा. भिवेक तोदीले हामी हरसम्भव प्रयास गर्छौं, तपार्इंहरूलाई भोलि बिहान ५ बजे मात्र बच्चाको अवस्थाको बारेमा जानकारी गराउँला भनेर भित्र लानुभयो।

रातभरि छट्पटाउँदै बस्यौ नभन्दै बिहान ५ बजे चलमलाउन थालेछ।त्यति बेला म खुसीले हर्षित भएर उपचारमा संलग्न तीन जना डाक्टरको खुट्टामै लम्पसार परेर ढोगेँ। मेरो छोरो बचाउने भगवान् उहाँहरू नै हो।’