अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन

चिनियाँ पक्रन प्रहरी महानिरीक्षक खनाल आफैं सक्रिय

0
Shares

दीपक रिजाल, काठमाडौं।

गैरकानुनीरूपमा नेपाल आएका अधिकांश चिनियाँ नागरिकसँग पासपोर्ट नै नभएको तथ्य फेला परेको छ।नेपाल र चीन सरकारद्वारा गरिएको अप्रेसनका क्रममा पक्राउ परेका ती नागरिकको अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको प्रहरी अधिकारीहरूले जनाएका हुन्।

चीन र कम्बोडियाबाट नेपाल आएका ती चिनियाँँ नागरिकहरूले पासपोर्ट च्यातेको तथ्य फेला परेको सो घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

पक्राउ परेका केही चिनियाँ नागरिकसँग पासपोर्ट भए पनि उनीहरू भिसाको म्यादभन्दा बढी समय बसेको पाइएको ती अधिकारीले बताए।नेपालमा आएर बसेका झन्डै ३ हजारको संख्यामा रहेका आपराधिक मनोवृत्तिका चिनियाँ नागरिकबारे प्रहरीले खोजीकार्य तीव्र बनाएको छ भने राजधानीबाट भागेर अन्यन्त्र जानसक्ने सम्भावना भएका उनीहरूको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरीको टोली परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीको विभिन्न शाखाको संयुक्त टोलीले छापा मारी गत सोमबार १ सय ३० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
पक्राउ परेका ती चिनियाँ नागरिकबारे थप अनुसन्धान गर्न प्रहरीले मंगलबार ५ दिनका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ।

गैरकानुनीरूपमा नेपाल प्रवेश गरेर नेपाली भूमि प्रयोग गरी चीन सरकार र चिनियाँ नागरिकलाई पीडित बनाउने काममा संलग्न रहेका ती चिनियाँ नागरिकको चीन सरकारले पासपोर्ट नै रद्द गर्ने तयारी गरेकाले उनीहरूलाई चीनतर्फ फर्काउने तयारी भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

ती अधिकारीका अनुसार पछिल्लोपटक नेपाल प्रवेश गरेका चिनियाँ नागरिकहरूले सामाजिक सञ्जालमा नक्कली आइडी प्रयोग गरी चिनियाँ युवतीसँग ठूलो रकम रकम संकलन गरी आफ्नो खातामा जम्मा गर्ने गरेको तथ्यसमेत फेला परेको छ।

पक्राउ परेका चिनियाँ नागरिकले नेपालमा बसेर चिनियाँ युवतीहरूलाई माया–प्रेममा पारेर नेपाललगायतका विभिन्न मुलुक घुमाउने भन्दै ती युवतीहरूसँग पैसा असुल गर्ने गरेको पाइएको ती अधिकारीले बताए।

चीनमा लोकप्रिय मानिएको वी–च्याटको प्रयोगबाट झन्डै १ हजारभन्दा बढी चिनियाँ युवतीहरू उनीहरूको सिकार भएको ती अधिकारीले जनाए। उनीहरू पछिल्लोपटक अवैधरूपमा करोडांै चिनियाँ मुद्रा आफ्नो खातामा जम्मा गर्न सफल भएको अनुसन्धानका क्रममा खुलेको छ।

आफैं खटिए प्रहरी महानिरीक्षक

नेपालमा चिनिया नागरिकबाट तीव्ररूपमा अवैध गतिविधि बढेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चिनियाँ उक्त जालो तोड्न तीन महिनाअघिदेखि नै योजना बनाउनुभएको थियो। उहाँले आफ्नो विश्वासिलो टिम तयार पारी उक्त गतिविधिबारे सूक्ष्म अध्ययन गर्नुभएको थियो।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र मनी लाउन्डरिङ अपराध गर्ने चिनियाँ गिरोहबारे चिनियाँ प्रहरी नेपाल प्रहरीसँग सहकार्य गर्न तयार भएपछि चिनिया समकक्षीको समेत सहयोग लिएर महानिरीक्षक खनालले उनीहरूविरुद्ध कारबाही गर्ने योजना बनाउनुभएको थियो।

नेपालमा सक्रिय चिनियाँ अपराधीबारे चिनिया प्रहरी चिन्तित बन्दै आएको थियो। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८८ औं महासभामा भाग लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गत असोज २८ मा चिलीको राजधानी सान्टियागो पुग्नुभएको थियो।

महासभामा चिनियाँ प्रहरीका इन्टरपोल प्रमुख र महानिरीक्षक खनालबीच नेपालमा सक्रिय चिनियाँ अपराधीबारे गहन छलफल भएको थियो।

सोही छलफलका क्रममा चिनियाँ प्रहरी अधिकारीले नेपालमा अवैध गतिविधि सञ्चालन गर्दै आएका चिनियाँ नागरिकबारे थुप्रै गोप्य सूचना प्रवाह गरेपछि सोही सूचनालाई आधार मानेर नेपाल प्रहरीले उनीहरूविरुद्ध कारबाही अगाडि बढाएको हो।