चोभारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्दै

0
Shares

काठमाडौं, (नेस)।

चोभारस्थित तत्कालीन हिमाल सिमेन्ट कारखानाको खाली रहेको जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यहाँ अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रका साथै पाँचतारे होटलको निर्माण गर्ने योजना अघि सारिएको हो।

चोभारमा रहेको सरकारी जग्गामा उक्त योजना सारेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताउनुभयो। ‘चोभारमा ८ सय रोपनी सरकारी जग्गा खाली बसेको छ’, उहाँले भन्नुभयो– ‘त्यहाँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइनेछ। योजनाका लागि लगानी गर्न बैंकसँग प्रस्तावसमेत राखिसकेका छौं।’

ठूलो संख्यामा मानिस अट्ने गरी सम्मेलन केन्द्र बनाउन १० अर्ब रुपियाँ लगानीको आँकलन मन्त्रालयले गरेको उहाँले जानकारी दिनुभयो। सचिव अधिकारीका अनुसार चोभारमा अत्याधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहित दुईवटा पाँचतारे होटेल बनाउन पुग्ने जग्गा रहेको छ।

एकसाथ १ हजारभन्दा बढी सवारीसाधन पार्किङको व्यवस्थापन गर्न सकिने साथै १ लाखभन्दा बढी मानिसलाई क्याटरिङको व्यवस्थापन गर्न सकिने उहाँले दाबी गर्नुभएको छ। यसबाट नेपालमा सभा–सम्मेलनका माध्यमबाट हुने पर्यटक आगमन अझ वृद्धि हुने उहाँको भनाइ छ।

यस विषयमा एक चरणको मन्त्रालयले आफ्नो ढंगले बैंक, बीमा तथा अन्य वित्तीय संस्थाको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँगको छलफलसमेत गरिसकेको उहाँले बताउनुभयो। चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्यसमेत चलिरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त बन्दरगाहको निर्माण गरिरहेको छ। यस बन्दरगाह छेउमै सम्मेलन केन्द्र र तारेहोटल बनाउने सोच सरकारले बनाएको मन्त्रालयले जनाएको छ।