घरेलु र महिला हिंसाका घटना दिनप्रतिदिन बृद्धि


किरन धामी, दार्चुला ।

दार्चुलामा घरेलु हिंसा र महिला हिंसाका घटना बढ्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कले देखाएको छ । इन्सेक दार्चुलाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व पुर्ववार्षिक समीक्षा गोष्ठीमा जिल्लामा घरेलु हिंसा र महिला हिंसाका साथै अन्य घट्नाहरुलाई सार्वजनिक गरेको हो ।

इन्सेकको तथ्याङ्क अनुसार २०७५ पौष १७ गतेदेखी हालसम्ममा दार्चुलामा जिल्लामा ४५ ओटा घरेलु हिंसा र ३२ ओटा महिला हिंसाका घट्नाको अभिलेखीकरण गरिएको इन्सेक दार्चुलाका जिल्ला प्रतिनिधि नरेन्द्र सिंह कार्कीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकको अभिलेखमा एक वर्षको अवधिमा बलात्कार जबरजस्तीकरणीका ११, बहुबिबाहका १, कर्तव्य ज्यान उद्योगका ५, आत्महत्या दुरुत्साहनका २ गिरफ्तारका ९ र भौतिक संरचना कमजोर भएर मृत्यु भएको १ घट्ना उल्लेख छ । दार्चुला जिल्ला अदालतमा दर्ता भएका देवानी मुद्धा तर्फ ६२ मुद्धा मध्ये २८ थान मुद्धा फैसला भएका छन्, भने ३४ थान मुद्धा फैसला हुन बाकी रहेका छन् ।

यस्तै व्यक्तीवादी फौजदारी मुद्धा तर्फ ३१ थान दर्ता भएकोमा २२ थान फैसला भएका छन् । व्यक्तीवादी फौजदारी मुद्धा ३१ मध्ये २२ थान मुद्धा फैसला भए पछि ९ थान मुद्धा फैसला हुन बाकी छन् । यसैगरी सरकारवादी फौजदारी तर्फ २८ थान मुद्धा मध्ये ७ थान मुद्धा ७ थान मुद्धा फैसला भए, भने २१ थान बाकी रहेको प्रतिवेदनमा उल्लेख छ । अदालतमा २ मुद्धा रिट दायर भएकोमा १ फैसला भयो भने १ थान मुद्धा बाकी रहेको छ ।

जिल्लामा रहेको (घ) श्रेणीको जिल्ला कारागारको क्षमता ४० जनाको रहेको तथा ६५ जना कैदीबन्दि राखिएको प्रतिवेदनमा उल्लेख छ । २५ जना पुरुष कैदीबन्दी क्षमता रहेको ठाउँमा ६० जना पुरुष तथा ४ जना महिला छन् । जिल्लामा २ सय ९१ आधारभुत विद्यालय र ७३ माध्यमिक विद्यालय भए पनि सबै जसो विद्यालय भवनहरु भुकम्प प्रतिरोधी नभएको तथा अपाङ्ग मैत्री समेत नभएको तथ्याङ्क छ । जिल्लामा बालबिबाह गर्ने र गराउनेको संख्यामा बृद्धि भएको प्रतिवेदनले देखाएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिकामा गरिएको सर्वेक्षणले बिबाह गरेका २ सय २० जना महिला र १ सय ३० जना पुरुष मध्ये १ सय २६ जना महिला र २३ जना पुरुषले २० वर्ष उमेर नपुगी बिबाह गरेका छन् । बालबिबाहकै कारण ५० प्रतिशत बालबालिकाले बिबाह पस्चात विद्यालय जान समेत छाडेका छन् । जिल्लामा यसै वर्ष ११ महिने दुधे बालिकालाई आगोले जलाएर हत्या गरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लको ब्याँस गाउँपालिका वडा नम्बर ५ की ११ महिने दुधे बालिका अनुस्का विष्टलाई उनका बुवा नविन विष्ट र आमा सीला विष्टले आगो लगाएर आफै ११ महिने दुधे बालिकाको हत्या गरेका थिए । प्रतिवेदनले बलात्कार यौन दुव्र्यवहार, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव दुव्र्यवहार, जिल्लको स्वास्थ्य सेवाको अवस्था, आत्महत्या दुरुत्साहन, अभिव्यक्ती, भेला तथा संगठित हुने अधिकारका विषयमा विश्लेषण गरेको छ ।