समाजवादी पार्टीले सरकार छाडेपछि प्रम ओलीलाई धक्का, विश्वासको मत लिनुपर्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ। समाजवादी पार्टीले सरकार छोडेको एक महिनाभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेछ।

अहिले सरकारमा नेकपाको बहुमत छ। नेपालको संविधान धारा १०० अनुसार सरकारमा रहेको दल बाहिरिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ’ धारा १०० को (२) मा भनिएको छ। समाजवादी पार्टीबाट उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उपेन्द्र यादव र सहरी विकासमन्त्री महोमद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको संविधान शंसोधनसहितका सहमति कार्यान्वयन नभएपछि राजीनामा दिएका हुन्। यसअघि यादवले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा सविधान शंसोधन प्रस्ताव पेश गरेका थिए।उक्त प्रस्ताव प्रधानमन्त्री केपी ओलीले ठाडै अस्वीकार गरेपछि समाजवादीले मंगलबार सत्ताबाट बाहिरिएको बुझिएको छ।