दयानन्दको गोलमा मनाङको उद्धार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत् लगातार दोस्रो जित हात पारेको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराएको हो, जसमा दयानन्द सिंहले मनाङको उद्धार गरेका थिए।

खेल बराबरीतर्फ लम्किएको अवस्थामा दयानन्दले निर्णायक गोल गर्न सफल भएका थिए। उनले ५ मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए।

दयानन्दले रिबाउन्ड बललाई गोलमा परिणत गर्दै टोलीलाई ३ अंक दिलाएका थिए। विमल रानाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी नियन्त्रणमा लिन नसक्दा बल रिबाउन्ड भएको थियो।

उपाधि दावेदारी मनाङले आफ्नो पहिलो खेलमा एपीएफ क्लबलाई २–० ले हराएको थियो। त्यस्तै अर्को उपाधि दावेदार आर्मीले आफ्नो पहिलो खेलमा फ्रेन्डस् क्लबलाई २–१ ले पराजित गरेको थियो। तर दोस्रो खेलमा भने आर्मीले हारको सामना गर्नुपरेको थियो।

यसैगरी अर्को विभागिय टोली नेपाल पुलिस क्लबले पनि दोस्रो खेलमा जित निकाल्न सकेन। दशरथ रंगशालामा भएको खेलमाा उपाधि दावेदार थ्रीस्टार क्लबले पुलिसलाई १–० गोलअन्तरले नै हराएको थियो। टोलीको जितमा शुशील राईद्वारा निर्णायक गोल भएको थियो। उनले निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा गोल गरेका थिए।

योसँगै थ्रीस्टारले जारी लिगमा पहिलो जित हात समेत पारेको छ। ललितपुरे टोलीले आफ्नो पहिलो खेलमा बराबरी नतिजा आत्मसात गरेको थियो। त्यस्तै पुलिसले पनि बराबरी नतिजाबाटै लिगको शुरूवात गरेको थियो। यो नतिजासँगै थ्रीस्टारले ४ अंक जोडेको छ भने शीर्ष स्थानमा मनाङ ६ अंकसहित रहेको छ।