बोइंगको मानवरहित क्याप्सुल परीक्षणमा समस्या

0
Shares

वासिङटन, (एजेन्सी)।

अमेरिकाको विमान कम्पनी बोइंगले आफ्नो अन्तरिक्ष यानको परीक्षण रोकेको छ। उक्त रकेटमा एक मानवरहित क्याप्सुल राखिएको थियो।क्याप्सुल कुनै अन्तरिक्षयानमा रकेटबाहिरको हिस्सा हुने गर्छ। यसमा अन्तरिक्ष यात्री बस्न सक्छन। बोइंगले सफल परीक्षणपछि उक्त क्याप्सुलमा मानवलाई अन्तरिक्षमा पठाउने उद्देश्य राखेको थियो।

‘द स्टारलाइनर’ नामको उक्त क्याप्सुललाई अमेरिकाको फ्लोरिडाबाट एटलस रकेटसँगै सफलतापूर्वक प्रक्षेपित गरिएको थियो। तर केही प्राविधिक गडबडी देखिएपछि उक्त क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका निर्धारित मार्गबाट विचलित हुन थाले।

द स्टारलाइनर क्याप्सुलको इन्जिनबाट अत्यन्त धेरै इन्धन खर्च भइरहेको थियो। त्यसले गर्दा अभियान पूरा गर्नका लागि इन्धनको कमी हुन सक्थ्यो। अब स्टारलाइनरलाई पृथ्वीमा फिर्ता गर्ने भएको छ। आगामी ४८ घण्टामा स्टारलाइनर न्यु मेक्सिकोमा अवतरण हुन सक्ने अपेक्षा गरिएको छ। यसको सफ्ट ल्यान्डिंगका लागि प्यारासुट र एयरब्यागको प्रयोग गरिनेछ।

स्टारलाइनरको घडीमा खराबी देखिएको नासाका प्रशासक जिम ब्राइडेन्सटाइनले पत्रकार सम्मेलनमा जानकारी दिए। स्टारलाइनर एक अटोमेटिक क्याप्सुल भएको र समयको सन्दर्भमा देखिएको समस्याका कारण यो आफ्नो अभियानबाट भिन्न हुँदै गलत इन्जिन सञ्चालन गर्ने प्रयासमा लागेको उनले जानकारी दिए।

उडान नियन्त्रण गर्ने कर्मचारीहरूको यो समस्या पत्ता लगाए तर यसलाई तत्काल रोक्न सकिरहेको थिएन, किनभने उक्त क्याप्सुल दुई स्याटलाइट लिंकको बीचबाट गइरहेको थियो। यदि क्याप्सुलभित्र अन्तरिक्ष यात्री रहेको भए सम्भवत उक्त समस्याको समाधान उनीहरूले गर्ने र त्यसलाई पुन अन्तरिक्ष केन्द्रतर्फ मोड्न सफल हुने ब्राइडेन्सटाइनले बताए।

नासाका अन्तरिक्ष यात्री माइक फिन्कले पनि उक्त कुरामा सहमति जनाएका छन्। माइक भविष्यमा स्टारलायनर क्याप्सुलमा सवार भएर अन्तरिक्षमा जानका लागि चयन भइसकेका छन्।

उनले भने– ‘यदि हामी उक्त क्याप्सुलमा भएको भए सम्भवत हामी उडान नियन्त्रण टोलीलाई स्थितिको सामना गर्न अन्य विकल्प दिन सक्थ्यौं।सन् २०११ मा सटल्सको सेवा समाप्त भएपछि अमेरिकी अन्तरिक्ष यात्रीले प्रक्षेपणका लागि आफ्नो भूमि प्रयोग गर्न पाएका छैनन्।