पत्रकार खासोगीको हत्या सिलसिलामा पाँचलाई मृत्युदण्ड

0
Shares

रियाद, (एजेन्सी)।

साउदी अरेबियाको एक अदालतले सोमबार गत वर्ष भएको पत्रकार जमाल खासोगीको हत्याको सिलसिलामा पाँच जना व्यक्तिलाई मृत्युदण्ड तथा अन्य तीनजनालाई कारावास सजाय सुनाएको छ।

साउदी सरकारका कट्टर आलोचक खासोगीको टर्कीको राजधानी इस्तानवुल स्थित साउदी दूतावासमा साउदी एजेन्टहरूको टोलीद्वारा हत्या भएको थियो।

साउदी सरकारी वकिलहरूले घटिया अपरेसनको कारण उक्त हत्या हुन गएको भन्दै नाम नखुलाइका ११ जनाविरुद्ध मुद्दा चलाएका थिए। तर संयुक्त राष्ट्रसंघका एक जना विशेषज्ञले भने यसलाई ‘गैर न्यायिक मृत्युदण्ड’को संज्ञा दिएका छन्।

विशेषज्ञ एगनेस क्याल्लामर्डले खासोगीको हत्यालाई लिएर साउदी युवराज मोहमद विन सलमानमाथि पनि अनुसन्धान गरिनुपर्ने बताएका छन्।

गत अक्टोबरमा सलमानले यस घटनामा आफ्नो संलग्नता नभएको बताउँदै साउदी अरेबियाको नेता भएकाले र यो घटनामा साउदी सरकारका लागि काम गरिरहेका व्यत्ति हरूबाट भएकले आफुले पूर्ण जिम्मेवारी लिने बताएका थिए।

मानव अधिकार निकायले यो मुद्धा गोप्य स्थानमा चलाइएकाले यसमा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको तथा साउदी सरकारी पक्षबाट अर्थपूर्ण हस्तक्षेप भएको हुनसक्ने बताएको छ।

अमेरिकामा बसोबास गर्दै आएका ५९ वर्षीय खासोगी अमेरिकाबाटै प्रकासित हुन चर्चित अखबार वासिंगटन पोस्टका स्तम्भकार थिए। उनलाई अन्तिम पटक सन् २०१८ को २ अक्टोबरमा आफ्नी मंगेतर ह्यातिस सेन्गिजसँग विवाहका लागि आवश्यक कागजात लिन साउदी नियोगमा प्रवेश गरेको देखिएका थिए।

अनुसन्धानको अन्तिम प्रतिवेदनमा खासोगीलाई जबरजस्त नियन्त्रणमा लिएर ठूलो परिमाणमा लागूऔषधको इन्जेक्सन दिइएको फलस्वरुप उनको ओभरडोजबाट मृत्यु भएको तथा उनका काटिएका अंगहरू स्थानीय मतियारहरूको जिम्मा लगाइएको उल्लेख गरिएको छ।

उनको शरीरका कुनै पनि अवशेष फेला पर्न सकेको थिएन। सन् २०१८ को नोभेम्बरमा साउदी अरेबियाको सरकारी वकिल सालान सालानले साउदी गुप्तचर निकायका उपप्रमुखले एक विशेष टोलीलाई खासोगीलाई मनाएर वा जबरजस्ती भए पनि साउदी अरेबिया लिएर आउन निर्देशन दिएको बताएका थिए। तर सालानले यसबारे युवराज मोहमदलाई कुनै पनि जानकारी नभएको स्पष्ट पारेका थिए।