पन्छी जोगाउने प्रतिबद्धता


काठमाडौं, (नेस)।

आगन्तुक र रैथाने पन्छीको बासस्थान र विचरण क्षेत्र जोगाउन विज्ञ र स्थानीयले प्रतिबद्धता जनाएका छन्। सरकार, समुदाय र राष्ट्रिय÷ अन्तर्राष्ट्रिय संरक्षण साझेदार हातेमालो गर्दै अघि बढ्ने भएका हुन्।

पन्छीको ‘स्वर्ग’ मानिने कपिलवस्तुको जगदीशपुरमा सम्पन्न तीन दिने राष्ट्रिय कार्यशालामा पन्छी र अन्य जलचर संरक्षणमा सामूहिक प्रतिबद्धता जुटेको हो।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले पर्यावरण जोगाउन स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले समुदायसँगको सहकार्यमा संरक्षण गतिविधि अघि बढाउने बताउनुभयो।

प्रदेशका सांसद, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख दीपशमशेर राणा, सशस्त्र प्रहरी बल प्रमुख जनक गिरी, वाणगंगा सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख कोपुला श्रेष्ठलगायतले संरक्षणमा हातेमालो हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पन्छी संरक्षण संघ (बीसीएन)की प्रमुख कार्यकारी अधिकृत इशाना थापाले नेपालमा अभ्यासमा रहेको समुदायमा आधारित पन्छीसहित जैविक विविधता संरक्षण अभ्यास विश्वकै लागि उदाहरणीय बनेको उल्लेख गर्नुभयो।

कार्यशालामा पन्छी र तीनका प्रजातिको बासस्थान र जैविक विविधता संरक्षणमा भएका सफल अभ्याससँगै र सुधार्नुपर्ने कार्यबारे छलफल भएको थियो।

पर्या–पर्यटन र दिगो विकासका क्रियाकलाप अघि बढाउन सकिने संभावनाबारे विज्ञले अवधारणा प्रस्तुत गरे। कार्यशालामा विभिन्न ४० जिल्लाका प्रतिनिधि र विषयविज्ञ सहभागी भएका बीसीएनका गिद्ध संरक्षण अधिकृत कृष्ण भुसालले जानकारी दिनुभयो।