चिकित्सक संघको निर्वाचनमा प्यानलैप्यानल

0
Shares

भगवती तिमल्सिना, काठमाडौं।

आगामी माघमा हुन गइरहेको नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेदवारी दिएको पेसागत समावेशी समूहले आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ।

संघले सार्वजनिक गरेको घोषणापत्रको एजेन्डा ३ को ‘इ’मा आफ्नो टिमको जितपछि स्वास्थ्य पत्रकारलाई ओरियन्टेसन तालिम दिने र त्यस्ता पत्रकारले मात्र रिर्पोटिङ गर्न पाउने व्यवस्था लागू गर्ने उल्लेख गरिएको विषयमाथि सहभागी पत्रकारले कडा आलोचना गरेका थिए।

कुनै पनि समाचारमा चित्त नबुझे सम्बन्धित मिडियामा खण्डन गर्ने, नेपाल प्रेस काउन्सिललाई जानकारी गराउने र कानुनीरूपमै अघि बढ्ने बाटा हुँदाहुँदै चिकित्सा क्षेत्रका व्यक्तिले पत्रकारिताका विषयमा एजेन्डा उठाउन जरुरी नभएको भन्दै सञ्चारकर्मीले खरो प्रतिवाद गरेका थिए।

पत्रकार सम्मेलनमा जारी गरिएको आठ बुँदे घोषणापत्रमा अपरिपक्व शब्दहरू प्रयोग गरिनुका साथै आफ्नो कार्यक्षेत्र र दायरासमेत स्पष्ट नभएको भान भएको टिप्पणी पत्रकारका साथै सहभागी चिकित्सकले समेत गरेका थिए। प्रजातान्त्रिक समूहले केही दिनअघि नै आफ्ना ५ बँुदे घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको थियो।

त्यसै गरी स्वतन्त्र उम्मेदवारी पनि घोषणा भइसकेको छ। घोषणापत्रको उक्त बुँदामा हाल स्वास्थ्यसँग सम्बन्धित विषयमा हुने गरेको गलत रिपोर्टिङको न्यूनीकरणका निम्ति हामी निर्वाचित हुनेबित्तिकै सबै मिडियाका सम्पादक, प्रकाशकसँग छलफल गरी नेपाल प्रेस काउन्सिलसमेतको सहकार्यमा स्वास्थ्य रिपोर्टिङका लागि अनिवार्य न्यूनतम ओरियन्टेसन तालिमको व्यवस्था गर्ने, त्यस्ता रिपोर्टरले मात्र स्वास्थ्य रिपोर्टिङ गर्ने व्यवस्थाको पहल गर्नेछौं भनी उल्लेख गरिएको छ।

त्यसै गरी मिडियामा आउने स्वास्थ्य रिपोर्टिङको अनुगमनका लागि प्रेस काउन्सिलसँग सहकार्य गरी छुट्टै डेस्कको व्यवस्था गर्न पहल गर्ने, कुनै पनि गलत रिपोर्टिङको तत्काल सक्रियतापूर्वक डटेर प्रतिवाद गर्ने र आवश्यकताअनुसारको कानुनी कारबाहीको पहल गर्ने भनी उल्लेख गरिएको विषयमा नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्र मिडियालाई धम्क्याउने नभई चिकित्सकको हकहित अधिकार र रक्षाका विषयमा एजेन्डा उठाउने र स्वतन्त्र पत्रकारितालाई हस्तक्षेप नगर्ने हुनुपर्नेसमेतका सुझाब सहभागी पत्रकारहरूले दिएको थिए।

डा. पुष्पमणि खराल अध्यक्ष रहेको सो समूहले आफूहरूसँग नयाँ भिजन र एजेन्डासँगै समावेशी उम्मेदवारका कारण जित सुनिश्चित भएको बताउनुभयो।

उपाध्यक्ष महिलाबाहेक उहाँलगायत अधिकांश टिम नयाँ र यस पहिला खासै चिकित्सक संघको जिम्मेवारी नसम्हालेका चिकित्सकको टिम रहेकोमा पनि सञ्चारकर्मीले चिकित्सक संघका सदस्यहरूले कसरी चिन्ने र विजयी गराउने भन्ने प्रश्न गरेका थिए।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतिस्पर्धी लोकतान्त्रिक समूहलाई जित्ने हेतुले नयाँ एजेन्डा र अनुहारका साथ चुनावी मैदानमा उत्रिएको अध्यक्षका दाबेदार खरालले बताउनुभयो।

‘लोकतान्त्रिक समूह लामो समयदेखि संघमा नेतृत्व गरे पनि आम चिकित्सकका पेसागत हकहित र सुरक्षामा ध्यान दिन नसकेको खरालले आरोप लगाउनुभयो।

‘सुरक्षित पेसा खुसी चिकित्सक’ स्लोगन राखेको यो समूहले सक्रिय नेतृत्व, सदस्यतामा वृद्धि, पेसागत सुरक्षा, स्पेसलाइजेसन, पेसागत अभिवृद्धि, चिकित्सकको स्वास्थ्य एवं गुणस्तरीय जीवन, सरकारी स्वास्थ्य सेवामा सुधार र विविध गरी आठ विषयका ३७ बुँदामा घोषणापत्र जारी गरेको छ।

पत्रकार सम्मेलनमा समावेशी समूह राजनीतिक आस्थामा आधारित नभई पेसागत विविधतामा आधारित समूह भएको दाबी गरिएको थियो। अध्यक्ष खरालले त्यसो भनिरहँदा उक्त समूहलाई नेकपा निकट राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन), मधेसी चिकित्सक संघलगायतले समर्थन रहेको घोषणा सोही मञ्चबाट गरिरहेका थिए।

सोही अवसरमा एनडीएएनका अध्यक्ष डा सन्तोष पौडेलले चिकित्सक संघलाई गैरराजनीतिक र समावेशी गराउँदै पेसागत हक हित र सुरक्षाका लागि नयाँ नेतृत्व आवश्यक भएको बताउनुभयो।

उहाँले लामो समयदेखि चिकित्सक संघ लोकतान्त्रिक पक्ष हाबी भइरहेको र पेसागत गतिविधि हुन नसकेको अवस्थाले समग्र चिकित्सक वर्गमा निरासा छाएको, त्यसलाई चिर्न नयाँ नेतृत्व आवश्यक रहेको दाबीसमेत गर्नुभयो।

त्यसै गरी मधेसी चिकित्सक संघका डा. विनय पञ्जियारले तराई, मधेस, पहाड विभिन्न जातजाति एक भएर सिन्डिकेट भत्काउन आएका बताउनुभयो।

उहाँले चिकित्सकको काम सधैं सडकमा आन्दोलन गर्ने नभई बिरामीको सेवा गर्ने भएकाले पनि लोकतान्त्रिक विधिलाई स्वीकार्दै चुनावमा आएको बताउनुभयो।

उहाँले राजनैतिक दबावमा खडा भएको प्यानलले जितेमा भोलिका दिनमा देश नै खतरामा पर्छ त्यसैले हामीले पेसागत समावेशी समूह बनाएएर त्यसैलाई समर्थन गरेका हांै भन्नुभयो।