महानगरपालिकाद्वारा २ सय १५ को उद्धार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं महानगरपालिकाले २ सय १५ जनालाई उद्धार गरेको छ। मंसिर २९ गते महानगर दिवसका अवसरमा अभियान शुभारम्भ पछि पुस २ गतेसम्मका ४ दिनमा ३१ महिला, ३ बालक र १ बालिकालाई उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये १ सय २९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको विवरणमा उल्लेख छ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको ‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को बैठकमा मानव सेवा आश्रमका ३ नं. प्रदेश इन्चार्ज सुमन बर्तौलाले यो विवरण प्रस्तुत गर्नुभएको हो।

उद्धार गरिएकामध्ये १ सय २९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको विवरणमा उल्लेख छ। त्यस्तै उद्धार गरिएकामध्ये वास्तवमै सहयोग गर्नुपर्ने भनेर पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ। त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ।

अभियान शुरू भएको दिन मंसिर २९ गते ७ महिला, ३४ पुरुष र १ बालक गरी ४२ जनाको उद्धार भएको थियो भने मंसिर ३० गते १० महिला, ४५ पुरुष १ बालक र १ बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो। पुस १ गते ११ महिला, ३७ पुरुष र १ बालक गरी ४९ जना र पुस २ गते ३ महिला, ६४ पुरुष गरी ६७ जनालाई काठमाडौंका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो।

महानगरका प्रमुख एवं मूल व्यवस्थापन समितिका संयोजक विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार गरिएका हरेक व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्वीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिनुभयो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सडकबाट मानिसलाई उठाउँदा आइपर्ने सम्भावित प्रक्रियागत तथा व्यवहारिक जटिलतालाई सहज बनाउन कार्यविधि बनाएर अघि बढ्न सुझाब दिनुभयो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा कार्यविधि तयार पार्न सकियो भने यसले अन्य नगरलाई पनि बाटो देखाउने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो।

सडकबाट उद्धार गरिएकालाई बालाजु बाइसधारास्थित स्क्रिनिङ सेन्टरमा लैजाने गरिएको १६ वडाका अध्यक्ष मुकुन्द रिजालले यस क्षेत्रमा स्क्रिनिङ सेन्टर बनाइएकोमा स्थानीयको चासो रहेको बताउनुभयो। मूल व्यवस्थापन समितिले ३ महिनाभित्र स्क्रिनिङ सेन्टरको काम सकिने योजना बनाएको छ।