राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्ने भएको छ। गजल विधाप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राखेर प्रज्ञा–प्रतिष्ठानले इतिहासमै पहिलोपटक राष्ट्रिय गजल महोेत्सव आयोजना गर्न लागेको हो।

राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा माघ १५ र १६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने गजल महोत्सवमा मुलुकका सातवटै प्रदेश, राजधानी र भारतका सिक्किम तथा दार्जिलिङबाट गजल विधामा कलम चलाउने स्रष्टाहरूको प्रतिनिधिमूलक सहभागिता रहने गजल महोत्सवका संयोजक तथा प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा. हेमनाथ पौडेलले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दुई दिनसम्म चल्ने महोत्सवमा गजलसम्बन्धी बहस, गजल वाचन र गजल गायनसमेत हुनेछ।’महोत्सवको पूर्वतयारीसम्बन्धी सरोकावालाबीच छलफल गर्ने उद्देश्यले सोमबार आयोजना गरिएको बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विशेष गरी युवा पुस्तामाझ लोकप्रिय बनेको गजल विधाको थप विकासका लागि महोत्सवको आयोजना गरिन लागिएको बताउनुभयो।

सदस्य सदस्य प्रा. उपाध्यायले भन्नुभयो– ‘प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गौरवका कामका साथै स्रोत र साधानले भ्याएसम्म वाङ्मयका सबै विधामा उत्तिकै महत्वका साथ काम गर्दैै आएको छ।’

उक्त अवसरमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्राडा. उषा ठाकुर, माया ठकुरी, लक्ष्मी माली र डा. देवी नेपाल, प्राज्ञ सभा सदस्यहरू नन्दु उप्रेती र डा. गीता त्रिपाठीले गजल महोत्सवको आयोजना गर्ने कुराले तरङ्गित बनाएको धारणा राख्नुभयो।

यसै गरी बैठकमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, कवि वासुदेव अधिकारी, गजलकारहरू ललिजन रावल, वियोगी बुढाथोकी, गोपाल अश्क, रवि प्राञ्जल, रामबहादुर पहाडी, प्राडा. सुदन पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, करुण थापा, नारायण गैरे, डा. विन्दु शर्मा, शान्ति शर्मा, घनेन्द्र ओझा, बलराम दाहाल, प्रभाती किरण, रूपक अलङ्कार, बाबु त्रिपाठीलगायतले महोत्सवको आयोजना गरिनु सुखद् भएको भन्दै सफल बनाउनका लागि विभिन्न राय सुझाव प्रस्तुत गर्नुभएको थियो।