ओली : नेम्वाङ वा तुम्बाहाम्फे प्रचण्ड : सापकोटा

उपसभामुखमा राजपाको सम्भावना

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।

नयाँ सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ–आफ्नै अडान राख्नुभएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वसंसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र उपसभामुख शिवमाया तुम्बाहाम्फेमध्ये एक जना र अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई बनाउनुपर्ने अडान लिनुभएको हो।

पार्टी एकता हुनुपूर्वको सहमतिअनुसार पूर्वमाओवादीले सभामुख पद लिएकाले सोही आधारमा पूर्वमाओवादीहरूले सभामुख पदमा अडान लिन प्रचण्डलाई सल्लाह दिएको बुझिएको छ।

ओलीले भने एकीकरणपूर्वको सहमतिभन्दा पनि नयाँ परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने तर्क लिनुभएको छ। तर, पूर्वमाओवादी समूहले अडान कायमै राखिरहेको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई बनाउने तयारी भइरहेको ओलीनिकट एक नेताले बताउँदै उहाँलाई नै सभामुख बनाउन दबाब बढेको दाबी गरे।

यस्तै उपसभामुख कुन दलबाट बनाउने भन्ने चर्चा शुरू भएको छ।उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएसँगै यही पुस ११ गतेदेखि नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ।

तुम्बाहाम्फेको राजीनामापछि प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य रहेका राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरको अध्यक्षतामा बैठक शुरु हुनेछ।

सभामुख पुरुष हुँदा उपसभामुख महिला हुनुपर्ने प्रावधान छ। सभामुख नेकपाले लिएमा नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपामध्येबाट उपसभामुख चयन हुनेछ।

नेकपा र समाजवादी पार्टीबीच सम्बन्ध चिसिएको र केही दिनअघि मात्र नेकपा र राजपाबीच दुई बुँदे सहमति भएको अवस्थामा उपसभामुख राजपाले नै पाउन सक्ने सम्भावना बलियो रहेको बताइएको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले दुई बुँदे सहमतिले नयाँ ढोका खोलेको बताउँदै भन्नुभयो– ‘यसबारे पार्टीभित्र औपचारिक छलफल भएको छैन, नेकपासँग छलफल भएपछि पार्टीमा पनि छलफल हुन्छ।’

राजपाले उपसभामुखसँगै सरकारमा सहभागी हुने विषयमा प्याकेजमै सहमति हुनुपर्ने बताएको छ। राजपाले उपसभामुख पाएमा चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डलमध्ये एकलाई दिइने बताइन्छ।