१३० चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

यस्ता ३ हजार चिनियाँ नेपाल प्रवेश गरेको चीन सरकारको जानकारी

0
Shares

दीपक रिजाल, काठमाडौं।

पर्यटकीय भिसामा नेपाल प्रवेश गरेर अबैध गतिविधिमा संलग्न रहेका १३०  चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अधिकांश कम्बोडियाबाट नेपाल प्रवेश गरेको पाइएको छ।

पर्यटकीय भिसामा नेपाल प्रवेश गरेका चिनियाँ नागरिकले इन्टरनेटको प्रयोग गरी अवैध गतिविधि सञ्चालन गरेको पाइएपछि त्यस्ता चिनियाँ नागरिकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो।

नेपाल प्रवेश गरेका चिनियाँ नागरिकले नेपालका बंैकिङ प्रणालीमा समेत पुनः आक्रमण गर्न खोजेको, पर्यटकीय भिसामा नेपाल प्रवेश गरेर विभिन्न व्यवसाय सञ्चालन गर्ने गरेको, अवैधरूपमा विदेशी रुपियाँ संकलन गरी चीनतर्फ पठाएको जस्ता उजुरी परेकाले उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाएको एसएसपी सुवेदीले जानकारी दिनुभयो।

प्रहरीले अवैधरूपमा नेपाल बस्दै चिनियाँ नागरिकलाई पक्राउ गर्न थालेपछि चिनियाँको भागाभाग हुन थालेको छ। केही समयअघि नेपाल प्रवेश गरेका ३ हजार चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।

ती चिनियाँ नागरिकले नेपाल प्रवेश गरेर नेपाल, चीन, भियतनामलगायतका मुलुकको वित्तीय संस्था ह्याक गर्ने गरेको सूचनाको आधारमा प्रहरीले उनीहरू बस्ने घरमा छापा मारेको हो। चिनियाँ नागरिकले विभिन्न स्थानमा घर भाडामा लिने र त्यही घरमा बसेर विभिन्न अवैध गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सो समूहले बाँसबारीमा दुईवटा घर प्रतिमहिना ४५ लाख तिरेर भाडामा लिएको र सोही घरबाट विभिन्न अवैध गतिविधि सञ्चालन गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

सो समूहले नेपालमा बसेर नेपालको वित्तीय संस्थाभन्दा पनि चिनियाँ वित्तीय संस्थामा बढी आक्रमण गरेको र करोडौं डलर विभिन्न देशमा उनीहरूको नाममा रहेको खातामा जम्मा गरेको चीन सरकारले पत्ता लगाएपछि नेपाल सरकारलाई उक्त जानकारी गराएको थियो। चिनियाँ राजदूतावासले पनि पक्राउ गर्न सहयोग गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

चीन सरकारको अनुरोधपछि गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले उनीहरू बसेको ठाउंँमा छापा मार्न शुरू गरेको थियो। एसएसपी सुवेदीले अवैध चिनियाँविरुद्धको अपरेसन अभियान अझै केही समय चल्ने जानकारी दिनुभयो।

सो समूह ललितपुरको सानेपा, काठमाडांैको टोखा, बाँसबारी, ठमेल, मनमैजु, बूढानीलकण्ठ, नयाँं बजार भक्तपुरको कमल विनायक, गठ्ठाघरलगायतका क्षेत्रमा घर भाडामा लिने र सोही घरमा बसेर अवैध गतिविधि सञ्चालन गर्ने गरेको पनि प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीको विशेष ब्युरो, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं परिसरको संयुक्त टोलीले शंकास्पद घरमा छापा मारी उनीहरूको प्रयोग गरेको विभिन्न मेसिनरी औचार, बैंकका एटीएम कार्डहरू, ल्यापटपलगायतका सामग्री बरामद गरेको छ।

प्रहरीको टोली उनीहरू बसेको घरमा छापा मार्न जाँदा उनीहरूले प्रहरीमाथि दुव्र्यवहारसमेत गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक निरज शाहीले जानकारी दिनुभयो। चिनियाँ सरकारले समेत चासो लिएपछि डीआईजी शाहीको नेतृत्वमा एउटा टोली नै बनाएर परिचालन गरिएको थियो।

केही समयअघि नै चीन सरकारले नेपाल सरकारलाई सो समूहको नेपाल प्रवेशको बारेमा जानकारी गराएपछि गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयलाई योजनाबद्ध ढंगले अपरेसन सञ्चालन गर्न निर्देशन दिएपछि प्रधानकार्यालयले गोप्य रुपमा उनीहरूको आश्रयस्थलको पहिचान गरेको थियो।

लामो समयदेखि नेपालमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका चिनियाँ नागरिकलाई समेत सो समूहले थ्रेट गर्ने गरेको समेत प्रहरीले सूचना पाएको छ।

नेपाल प्रवेश गरेका तीन हजार चिनियाँलाई खोजी गर्न प्रहरीले स्पेसल टाक्सफोर्स नै बनाएको छ। उनीहरूको समूहमा ३० हजारभन्दा बढी चिनियाँ संलग्न रहेको र उनीहरू चीन र भियतनाममा बसेर संसारभर आपराधिक गतिविधि गर्दै आएको पनि प्रहरीको अनुसन्धानले देखाएको छ।